PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अकस्मात किन गए डा. गिरी एमालेमा ?



अनन्तराज न्यौपाने

अकस्मात किन गए डा. गिरी एमालेमा ?

विराटनगर : आफूलाई खानदानी कांग्रेस भन्न रुचाउने वरिष्ठ चिकित्साकर्मी डा. ज्ञानेन्द्र गिरी एमालेमा प्रवेश गरेका छन्। अकस्मात् एमालेमा प्रवेश गरेपछि उनले किन यसो गरे भत्रे कौतुहल विराटनगरमा सुरु भएको छ।

व्यवसायी मोती दुगडको सञ्चालनमा रहेको होटल ह्यारिसनमा शुक्रबार साँझ मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले गरेको छलफल कार्यक्रमपछि वरिष्ठ डाक्टर गिरी एमालेमा प्रवेश गरेका थिए।

कार्यक्रम सकिनेबित्तिकै ब्यानर हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. गिरीलाई अबिर र मालासहित आफ्नो पार्टीमा प्रवेश गराए।

डा. गिरीलाई पूर्वमा डा. शेखर पीडित डाक्टर भन्ने गरिन्छ। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा २०४३ सालमा उपसचिव स्तरको डाक्टरबाट आफ्नो करिअर सुरु गरेका गिरी र डा. शेखर कोइरालाबीचको मनोमालिन्य नयाँ होइन।

डा. कोइराला पनि २०४२ सालदेखि नै कोशी अञ्चल अस्पतालमा कार्यरत थिए। सत्र वर्ष त्यहाँ जागिरे भएर उनी धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेपछि त्यतै गएका थिए।

विशेषतः २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि अकस्मात् शक्तिशाली भएका डा. कोइरालाले आफूलाई हदैसम्म पेलेको र दुःख दिएको अनुभव डा. गिरी व्यक्त गर्दछन्।

तत्कालीन स्वास्थ्य मन्त्री डा. रामवरण यादवलाई दबाबमा पारेर डा. कोइरालाले आफूलाई २०५० सालमा सहसचिव स्तरमा बढुवा हुन रोकेको र उल्टै विराटनगरबाट भद्रपुर अस्पताल  सरुवा गरेको अनि २०६४ मा सचिव हुन नदिएको नमिठो अनुभव डा. गिरी सुनाउँछन्।

नोबेल मेडिकल कलेजका संस्थापक रहेका डा. गिरीसित कलेजको सेयर डा. शेखरकै दबाब र प्रभावमा सुनिल शर्मालगायतका नाममा हस्तान्तरण गरिएको उनको भनाइ छ।

‘कति सधैँ पीडित भइरहने?’ मुटुरोग विशेषज्ञ एवम् चर्चित फिजिसियन डा. ज्ञानेन्द्रको भनाइ थियो, ‘कतै न कतैबाट सुरक्षित हुनु आवश्यक हुँदो रहेछ। त्यसैले यो निर्णय गरेँ।’

डा. गिरीसँगै विराटनगरका युवा उद्यमी अरुण राठी पनि एमालेमा गएका छन्। कांग्रेस परिवारका उनी राठी इलेक्ट्रिक्स, डिपिएस स्कुल र पूर्वाञ्चल इन्जिनियरिङ कलेजका सञ्चालक हुन्।

उनका बुवा जुगलकिशोर राठीसित कोइराला निवासको प्रगाढ सम्बन्ध थियो। स्वर्गीय राठी २०४९ को स्थानीय चुनावमा काङ्ग्रेसबाट विराटनगर वडा नं. ८ का वडाध्यक्ष थिए।

 

उमेश गिरी पनि एमाले जाँदै

नेपाली कांग्रेस मोरङका पुराना नेता उमेश गिरी पनि आफ्नो दलबलसहित एमालेमा जाने भएका छन्। लडाकू स्वभावका गिरी कोइराला निवासका नातेदारसमेत हुन्। गिरीले भने, ‘म पहिलेदेखि नै र्‍याडिकल थिएँ। त्यहीबेला वामपन्थी हुनुपर्‍थ्यो। दुर्भाग्यले कांग्रेसमा लागिएछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell