
काठमाडौं : न्युटन हाईस्कुल र शिवम् न्यूडायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्।
महिलामा न्यूडायमण्ड एभरेष्ट तथा पुरुषमा न्युटन र सेक्रेटहार्ट फाइनलमा पुगेका हुन्। दुवै फाइनल खेल आइतबार हुनेछ।
शनिवार भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा बालुवाटरको न्युटन हाईस्कुलले कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी माथी ३–० को सहज जित निकाल्यो। न्युटनले लिटिलबुद्धलाई २५–१७,२५–१६, २५–१८ को सोझो सेटमा हरायो। न्युटनका का अजय सुनुवार खेलकव म्यान अफ द म्याच भए।
क्वाटरफाइनलमा न्युटनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० कै सेटमा हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो। न्युटनका हरि घर्तिमगर म्यान अफ द म्याच भएको खेलमा ढोरपाटन २५–२२,२५–२३, २५–१७ ले पराजित भएको थियो।
पुरुषतर्फको दोश्रो सेमिफाइनलमा बालाजुको सेक्रेटहार्ट एकेडेमीले नुवाकोटको बुङताङ भलिबल संघलाई ३–१ को सेटमा हरायो। पहिलो सेट २३-२५ ले गुमाएको सेक्रेटहार्टले पुनरागमन गर्दै बाँकी तीन सेट २५–२२,२५–१८, २५–२१ ले जित्यो।
नयाँ बासपार्कको ढोरपाटन स्पोर्टस् प्रशिक्षण केन्द्रमा भएको महिलातर्फको पहिलो सेमिफाईनल खेलमा नैकापको शिवम् न्यूडायमण्ड एकेडेमीले काठमाण्डौंको प्यारामाउण्ट स्कुलमाथी ३–० को सहज जित निकाल्यो। कृपा अधिकारी वमन अफ द म्याच भएको खेलमा न्यूडायमण्ड प्यारामाउण्टलाई २५–७, २५–१७, २५–६ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो।
महिलाकै दोश्रो सेमिफाईनलमा बुटवलको एभरेष्ट बोडिङ स्कुलले पोखराको टप्स माबिलाई ३–० को सोझो सेटमा हरायो। एभरेष्टले टप्सलाई २५–१३, २५–१९, २५–१६ को सेटमा स्तब्ध बनाएको हो।
शुक्रवार क्वाटरफाइनलमा टप्सलाई हराउँदै सेमिफाइनल पुगेको ढोरपाटन स्पोर्टस् क्लबमाथी टप्स माबिले लगाएको प्रोटेस्ट सफल भएपछि टप्सले सेमिफाइनल खेल्ने अवसर पाएको थियो।
नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ।