
काठमाडौँः संघीय संरचनामा पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा केन्द्रीय संसद्का चर्चित अनुहार पनि प्रतिस्पर्धामा छन्। प्रदेशको मुख्यमन्त्रीको आकांक्षामा कतिपय प्रदेशको चुनावी मैदानमा छन्। कतिपय प्रतिनिधिसभामा टिकट पाउन नसकेपछि राजनीतिक यात्रालाई निरन्तरता दिन प्रदेश रोज्न बाध्य भएका छन्।
प्रदेशसभा रोज्ने ‘हेभिवेट’ पात्र सबैभन्दा बढी एमालेमा छन्। केन्द्रको संसदीय भूमिकामा अब्बल ठहरिएका माओवादी केन्द्रका केही नेताहरु प्रदेश झरेका छन्। कांग्रेसका थोरैमात्र नेताले प्रदेश रोजेका छन्।
प्रदेश १ मा एमालेमा मुख्यमन्त्रीको दाबीसहित एमाले सचिव भीम आचार्य, पूर्वमन्त्री शेरधन राई, युवा नेता रोजेन्द्र राई प्रदेशसभा तर्फ उम्मेदवार बनेका छन्।
यस्तै, प्रदेश ३ बाट केन्द्रीय संसदमा प्रभावशाली भूमिकामा रहेका एमालेका राजेन्द्र पाण्डे, पशुपति चौलागाईँ, अष्टलक्ष्मी शाक्य प्रदेशसभा उम्मेदवार बनेका छन्। यसअघि प्रतिनिधिसभातर्फ प्रतिस्पर्धा गर्दै आएका कैलाश ढुङ्गेल, अरुण नेपाल लगायतका केन्द्रीय राजनीतिमा चर्चामा रहेका पात्र पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्।
संसदीय राजनीतिमा चिनिएका एमालेका पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, प्रकाश ज्वाला, रामेश्वर फुयाल पनि प्रदेशसभा तर्फ नै उम्मेदवार बनेका छन्। तुलनात्मक रुपमा अन्य दलभन्दा एमालेका बढी नेताहरु प्रदेशसभामा उम्मेदवार बनेका छन्।
कांग्रेसबाट पूर्वमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभामा उम्मेदवार बनेका छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्ले पनि प्रदेशसभामा उम्मेदवार बनेका छन्। संविधानसभामा प्रतिनिधित्व गरेका कांग्रेसका अर्का युवा नेता जगदिश्वर नरसिंह केसी पनि प्रदेशसभा तर्फ प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रका तर्फबाट हाल बिना विभागीय मन्त्री रहेका महेन्द्रबहादुर शाही प्रदेशसभामा प्रतिस्पर्धामा छन्। शालिकराम जमरकट्टेल, पूर्व राज्यमन्त्री राधिका तामाङ लगायत पनि माओवादीबाट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन्।