PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

खोटाङका उत्तरी र दक्षिणी क्षेत्रमा मोबाइल अवरुद्ध



पहिलोपोस्ट

खोटाङ :  खोटाङको उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ। 

दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि मोबाइल सेवा अवरुद्ध भएको हो। लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका सेवाग्राही मारमा परेका छन्। दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर टावरमा जडान गरिएको ब्याट्री बिग्रिएपछि मोबाइल सेवा अवरुद्ध भएको हो। 

ब्याट्री बिग्रिएपछि मोबाइलले काम नगर्दा दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, इन्द्रणीपोखरी, बाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङ बजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देवीस्थान, पौवाशेरा, फाक्टाङ, बाराहपोखरी, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही भूभागका सेवाग्राही मर्कामा परेका छन्। 

यस्तै, उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिका–१ स्थित फेदीमा सञ्चालित रिपिटर टावरमा विद्युत् अभावका कारण ब्याट्री चार्ज नहुँदा मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।

टेलिकमले दुई वर्षअघि फेदीमा सञ्चालनमा ल्याएको ९०० मेगाहर्जको एसडिआर जिएसएम बिटिएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डेलगायतका सेवाग्राही डेढ दुई घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा जाने गरेका छन्। 

दुवै क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले चासो नदिएको सेवाग्राहीको गुनासो छ। मोबाइल सेवा अवरुद्ध हुँदा मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका गतिविधि संकलनमा समेत असर पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। 

जिल्लाबासीको समस्यालाई बेवास्ता गर्दै टेलिकमका प्रमुख ज्योति चौधरी घर बिदामा बसेको लामो समय भएको जनाईएको छ। अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन पटक पटक ताकेता गरिएको प्रजिअ एकदेव अधिकारीले जानकारी दिए। 

दक्षिणी क्षेत्रमा सञ्चालित मोबाइल सेवा गत वर्ष पनि पटक पटक अवरुद्ध हुने गरेको थियो। उत्तरी क्षेत्रको फेदीमा सञ्चालित टावरमा भने यस वर्षदेखि सौर्य प्रणालीले काम छाडेकाले मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell