काठमाडौं: हाइलाइट्स नेपाल र अस्कर इन्टरनेसनल कलेजको संयुक्त आयोजना रहेको पहिलो सर्ट फिल्म प्रतिस्पर्धामा कला संग्रौला निर्देशित ‘बुट्टे जामा’ पहिलो बन्न सफल भएको छ। अस्कर इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा विजयी फिल्मको नाम घोषणा गरिएको हो।
अन्तिम प्रतिस्पर्धामा रहेका दस फिल्ममध्येबाट ‘बुट्टे जामा’ उत्कृष्ट बन्न सफल भएको हो। नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले उत्कृष्ट फिल्मको छनोट गरेको हो। फिल्मले पुरस्कार स्वरुप १ लाख नगद प्राप्त गरेको छ।
दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त गर्यो। नेवारी समुदायको पृष्ठभूमिमा आधारित फिल्मले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई विषय बनाएको छ। फिल्मको निर्देशन राकेश महर्जनले गरेका हुन्। सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० फिल्ममध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो। फिल्मले ४० हजार नगद प्राप्त गर्यो्। नारी मनोविज्ञानलाई प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो। फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्यो। निरञ्जनराज भेटवाल निर्देशित फिल्मले श्रीमानको प्रतिक्षामा रहेकी महिलाको मनोदशालाई काफल पाक्यो चरामार्फत् अभिव्यक्त गरेको छ।
नयाँ पुस्ताका फिल्मकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले लघु फिल्म प्रतियोगिता गरेको हाइलाइट्सकी कार्यकारी निर्देशक शिवानी गुरुङले बताइन्। ‘फरक कथा र नयाँ प्रतिभालाई ठाउँ दिने हिसाबले प्रतियोगिताको आयोजना गरेका हौं। पहिलो प्रयासमै उत्साहजनक सहभागिता पायौं। आगामी दिनमा यसलाई थप बृहत बनाउँदै लैजान्छौं,’ गुरुङले भनिन्।
नाद, म भोलि जन्मनेछु, रुवा, फुक्पा, खाना खाम्न र मेमे उत्कृष्ट दसभित्र अटाएका फिल्म थिए।