काठमाडौँ : झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा सुरु भएको छ।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ। नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले सो जात्राको सुरुवात गराएको विश्वास गरिन्छ।
‘मलजा नकेगु’ भनिने जात्राको पहिलो दिन कुमारकुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइयो। काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक चन्द्रविनायकलाई पशुपतिनाथको छोरा मानिन्छ।
पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले शनिबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो। पूर्णिमाका दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो। धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउँछ।
मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् आज बिहान चन्द्रविनायक र भैरवनाथको खट उठाइएको जात्रा समन्वय समितिका अध्यक्ष पूर्ण संगतले जानकारी दिए। उनले भने,‘जात्राको दोस्रो दिन आज गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्ड, पेडा र लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ।’
यसैगरी आज चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने चलन छ। स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगे बिसाइन्छ।
मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् सोमबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिका कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठले बताए। बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ।
मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ। जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा मंगलबार दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ।
जात्राका अवसरमा कलाकार हरिप्रसाद शर्माका प्राचीन र मध्यकालीन उपत्यकाका झाँकी झल्कने चित्रकला पनि शनिबारदेखि प्रदर्शनमा राखिएको छ। प्रदर्शनी जात्राभर अर्थात् मंगलबारसम्म चल्नेछ।रासस