
टोकियो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुगेका छन्। आइतबार बिहान अमेरिकी राष्ट्रपति एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिविर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो ।
सो सैनिक शिविरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गरेका थिए। उनी र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता हुनेछ। त्यसअघि आज अपरान्ह उनीहरु दुवै जना टोकियोभन्दा बाहिर रहेको ‘कन्ट्रि क्लब’ मा गल्फ खेल्ने कार्यक्रम रहेको छ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको सम्मानमा आज साँझ जापानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको जापानी विदेशमन्त्रालयले जानकारी दिएको छ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको जापान भ्रमण ऐतिहासिक भएको टिप्पणी गरेका छन्। उनले यस भ्रमणका माध्यमबाट दुई देशबीचमा यसअघि कहिल्यै नभएको सम्बन्ध विकास हुनेमा आफूले विश्वास लिएको बताएका छन्।
यसअघि सैनिक शिविरमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र जापानबीचको सम्बन्ध अहिले पनि सुमधुर रहेको र आगामी दिनमा पनि यी दुई देश व्यापारिक तथा अन्य आवश्यक सबै एजेण्डाहरुका कारण झनै सुदृढ हुने बताएका थिए।
राष्ट्रपति ट्रम्पले मङ्गलबार जापानी सम्राट अकिहितो र महारानी मिचिकोसँग भेटवार्ता गर्ने बताइएको छ। त्यस अगावै जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुनेछ।
वार्ता अन्य विषयहरुका अतिरिक्त द्विपक्षीय व्यापार, लगानी र क्षेत्रीय सुरक्षाका विषयमा बढी केन्द्रित हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन्।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ। केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकाशहुदै परीक्षण गरेको थियो।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ।रासस/सिन्ह्वा