- विनोदसिंह विष्ट
निर्वाचन गतिविधि बढेपछि जिल्ला निर्वाचन कार्यालयले पनि आन्तरिक तयारी तीव्र बनाएको छ।
निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम संकलन गर्न सुरु गरिएको निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए।
गत असारमा प्रयोग भएका मतपेटिका, स्वस्तिक छापलगायतका निर्वाचन सामग्रीलाई पनि तयारी अवस्थामा राख्न थालिएको र मतदानस्थल अनुगमनको कार्य भइरहेको छ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाकालागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३१ हजार ३१९ मतदाताका लागि १२० मतदानस्थल तथा १८२ मतदान केन्द्र तोकिएका छन्।
मंसिर १० गतेको निर्वाचनलाई सभ्य, भव्यताका साथ सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आयोगले आग्रह गरेको छ।
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न जिल्लाका तीन मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने ३८ मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखिएको र त्यहीअनुसार सुरक्षा व्यवस्था पनि मिलाइने बताइएको छ।
निर्वाचन अबधिभर इजाजतप्राप्त हातहतियार पनि संकलन भइरहेका छन् । बदर मत घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले कात्तिक २६ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
उम्मेदवार भोट माग्न गाउँ पसे
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार भोट माग्ने कार्यमा व्यस्त छन्। चुनावलाई लक्षित गरी जिल्लामा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिनुका साथै भोट माग्न गाउँकेन्द्रित भएका छन्।
मतदातालाई कामको चटारो भइरहेको बेला उम्मेदवारलाई पनि मत माग्न त्यत्तिकै हतारो देखिन्छ। लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
गाउँघरमा कामको चटारो भएको भएपनि काम गर्ने ठाउँमै गएर भोट माग्ने काम भइरहेको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए।
जिल्लाको पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा चुनावीसभा गरेको वाम गठबन्धनले अन्य ठाउँमा पनि चुनावी कार्यक्रम गरेर मत माग्ने काम भइरहेको जनाएको छ।
यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार नारायणदत्त अवस्थीले घरदैलो अभियान सञ्चालन गरिएको बताए। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनसमाजवादी पार्टी नेपाललगायतका दलले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन् भने प्रदेशसभा सदस्यका लागि बैतडी (क) बाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी र बैतडी (ख) मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन्।
उता वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारिए छ भने प्रदेशसभाका लागि (क) बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र (ख) बाट एमालेका लीलाधर भट्टलाई उम्मेदवार बनाइएको छ।
यस्तै प्रतिनिधिसभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन्।
प्रदेशसभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे प्रतिस्पर्धामा उत्रिएका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।रासस