
भियतनाम : भियतनाममा डाम्रोइ आँधीका कारण २७ जनाको मृत्यु भएको छ भने २२ जना हराइरहेका छन्।
मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक विपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले जानकारी दिएको छ।
१६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीन जनाको बिन्ह दिन्ह प्रान्तमा, तीन जनाको मध्य पहाडी लाम डोङ प्रान्तमा, एक जनाको उच्च पहाडी डाक लाकको मध्य भागमा मृत्यु भएको जनाइएको छ।
अन्य चार जनाको भने जन्मस्थान नखुलेको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी, हराएका २२ जनामध्ये चारजना बिन्ह दिन्ह, एक जना फु येन प्रदेशको मध्यभागका हुन्।
अरु १७ जनाको ठेगाना भने स्पष्ट हुन नसकेको केन्द्रीय दैवी प्रकोप समितिले जनाएको छ। हावा हुरीका कारण हराएका उनीहरु खतरामा छन् वा मरिसके भन्ने बारेमा अहिलेसम्म यकिन हुन सकेको छैन।
आँधीले ६२६ वटा घर नष्ट गरेको र अरु ३९ हजार ७०० घरमा क्षती पुर्याएको छ। त्यसैगरी तीस हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली र माछामार्ने २२८ वटा डुङ्गा पनि नष्ट भएको छ।
आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा सडक र रेल यातायातमा क्षति पुर्याएको पनि अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा