चितवन : कात्तिक २९ गतेदेखि चितवनको सौराहामा भैंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैंसी’ बारे अन्तर्राष्ट्रिय सम्मलेलन हुनेभएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको हो।
‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुनेभएका छन्।
सम्मेलन मूलआयोजक समितिका अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डिन प्राडा शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी हुने जानकारी दिइन्।
उनीहरुले भैंसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्। भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गरिने उनले जानकारी दिइन्। यसमा १४ वटा आमन्त्रित कार्यपत्र रहनेछन्।
आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनि बोरगिज, एशियन बफेलो एसोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवं विशिष्ट वैज्ञानिकको सहभागिता रहने छ।
विश्वका ४२ देशमा भैंसीसीपालन हुँदै आएको छ। विश्वभरमा १८ करोड ५० लाख भैंसी पालिएको अनुमान गरिन्छ। यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैंसीपालन हुँदै आएको छ।
सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने पनि आयोजकले जनाएको छ। नेपालमा तीनवटा रैथाने जात र दुईवटा उन्नत जातका भैंसी पालिँदै आइएको छ।
रैथानेमा लिमे र पार्कोटे स्याङजा, पर्वत, बागलुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैंसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ। उन्नत जातका मूर्रा र क्रस मूर्रा जातका भैंसी तराई क्षेत्रमा पालिँदै आएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ।रासस