काठमाडौं : नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको जानकारी नदिएको बताएका छन्।
पहिलोपोष्टसँग कुरा गर्दै जोशीले आयोगको निर्णय असंवैधानिक भएको बताएका हुन्।
उम्मेदवारहरुलाई बोलाएर आफ्नो प्रतिरक्षा गर्न दिइनुपर्ने कानुनी व्यवस्था भएपनि आफूलाई कुरा राख्न नदिएको जोशीले बताए।
‘आयोगले मेरो नाम हटाएको सुनेको छु। मलाई जानकारी नदिएको र म विरुद्धको उजुरीमा मलाई प्रतिरक्षा गर्न मौका दिइएन, मेरो उम्मेदवारी कानुनी रुपमै कायम छ’ जोशीले भने, ‘आफूविरुद्धको भ्रष्टाचारको मुद्धा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा एकाएक आयोगले उम्मेदवारी खारेज गर्नु असंवैधानिक हो। आयोगको निर्णयको विरुद्धमा सर्वोच्चमा जाने कि नजाने छलफल भइरहेको छ।’
जोशीले आफूविरुद्ध षड्यन्त्र भएको बताए। जोशीले आफू जस्ता धेरै चुनाव लडिरहेको भएपनि आयोगले आफूलाई मात्र निशानामा पारेको आरोप लगाए।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतमा सजाय पाएको देखिन आएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार स्वतन्त्र उम्मेदवार जोशीको उम्मेदवारी कायम नरहने निर्णय आयोगले गरेको थियो।
जोशीले आफूलाई पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका थिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको उम्मेदवारीविरुद्ध उजुरी दर्ता गराएका थिए।