
काठमाडौं : नैकापको शिवम् न्यू डायमण्डले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
आइतबार भएको फाइनल खेलमा न्यू डायमण्डले बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।
नयाँबसपार्क स्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा न्यूडायमण्डले एभरेष्टलाई २५–१३, २५–१४, २५–१७ को सेटमा पराजित गरेको हो। उपाधि विजेता न्यू डायमण्डले नगद एक लाखसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। उपविजेता एभरेष्टले ६० हजारसहित ट्रफी हात पारेको छ।
यस्तै तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले कुलेश्वरको पारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै नगद ३५ हजार हात पारेको छ।
महिलातर्फ च्याम्पियन न्यूडायमण्डकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् राष्ट्रिय टोलीकी समेत मुख्य स्पाइकर रहेकी मालीले नगद ५ हजार हात पारिन्। यस्तै न्यू डायमण्डकै कृपा अधिकारी उत्कृष्ट सेटर, रस्मिता दुरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा एभरेष्टकी पुनम चन्द उत्कृष्ट स्पाइकर, एभरेष्टकै कामना विष्ट उत्कृष्ट ब्लकर तथा टप्सकी ममता डगौरा उत्कृष्ट सर्भर घोषित भए। उत्कृष्ट सबैले नगद तीन हजार हात पारे।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितन्द्रबहादुर चन्द, आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीलले पुरस्कृत गरे।
पुरुषको फाइनलमा न्युटन र बुङताङले खेल्ने
पुरुषतर्फ न्युटन र सेक्रेटहार्टबीच आइतबारै फाइनल खेल हुने तय भएको थियो। तर अब न्युटनले सोमबार हुने फाइनलमा नुवाकोटको बुङताङसंग खेल्ने भएको छ।
सेक्रेहार्टले बुङताङलाई सेमिफाइनलमा हराउँदै फाइनल पुगेको थियो। तर थ्री स्टारले क्वाटरफाइनलमा लगाएको प्रोटेष्ट प्रमाणीत भएपछि सेक्रेटहार्ट प्रतियोगितामा खेल्न अयोग्य टिम भएको आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीले जानकारी गराए।
सेक्रेटहार्टले क्वाटरफाइनलमा थ्री स्टारलाई पराजित गरेपछि १८ बर्ष माथीको खेलाडी खेलाएको भन्दै थ्री स्टारले सेक्रेटहार्टमाथी प्रोटेष्ट गरेको थियो। थ्री स्टारको प्रोटेष्ट प्रमाणित भएपछि सो समूहबाट सेक्रेटहार्टसंग क्वाटरफाइनलमा पराजित थ्री स्टार र सेमिफाइनमा पराजित नुवाकोटको बुङताङ भलिबल संघले आयोजकको निर्णय अनुसार सेमिफाइनल खेल्ने अवसर पाए। यसमा विजयी हुँदै बुङताङ फाइनलमा न्युटनसंगको भिडन्त पक्का गरेको हो।
नुवाकोटको बुङताङ भलिबल संघले थ्री स्टार एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो। पहिलो र दोश्रो सेट २२–२५ र २०–२५ ले गुमाएको बुङताङले खेलमा उत्कृष्ट पुनरागमन गदै लगातार तीन सेट जित्यो। बुङताङले तेस्रो, चौथो र पाँचौ सेट क्रमश: २५–२१,२५–२०, १५–९ ले जितेको हो।
आइतबार न्युटन र बुङताङ बीच ढिलो सुरु भएको फाइनल खेलमा स्थगित हुनुअघि न्युटन १–० ले अघि थियो। अब फाइनल खेल सोमबार १ बजे हुनेछ।