PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

महन्थ ठाकुरलाई जिताउन कांग्रेस उम्मेदवारको मनोनयन फिर्ता, कांग्रेसले ठाकुरका लागि भोट माग्छ : निधि



पहिलोपोस्ट

महन्थ ठाकुरलाई जिताउन कांग्रेस उम्मेदवारको मनोनयन फिर्ता, कांग्रेसले ठाकुरका लागि भोट माग्छ : निधि

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता गराएको छ। महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका महन्थ ठाकुरको जित निश्चितका लागि नेपाली कांग्रेसका उम्मेदवार वजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन्। कम्युनिस्ट गठबन्धनका तर्फबाट यस क्षेत्रमा नेकपा एमालेका विजयकुमार चौधरी उम्मेदवार छन्। 

'अन्तिम समयसम्म नेपाली कांग्रेस र राजपाबीच गठबन्धन पहल भएको थियो,' नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलोपोस्टसँग भने, 'त्यो पहल सम्भव नभए पनि भोलि संसदमा चाहिने नेता भएकाले उहाँलाई कांग्रेसले जिताउने छ।'

नेता निधिले सांकेतिक रुपमा भए पनि महन्थ ठाकुरलाई समर्थन जुटाउन कांग्रेसले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। 

वाम गठबन्धनपछि लोकतान्त्रिक शक्तिहरुको गठबन्धनका लागि सक्रिय रहेका निधि प्रदेश नम्बर २ मा राजपासँग तालमेलका लागि सक्रिय थिए। निधिकै सक्रियतामा नेता महन्थसँगै चुनावी मैदानमा रहेका नेपालीलाई मनोनयन फिर्ता लिन लगाइएको हो। 

मनोनयन फिर्ता गरेका वजरंग नेपालीले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग कुराकानी गरेका थिए। निधिले उम्मेदवारी फिर्ताका लागि नेपालीलाई मनाएलगत्तै शीर्ष नेतासँग कुरा गराएका थिए। त्यसपछि उनले मनोनयन फिर्ता लिएका हुन्।

'अब नेपाली कांग्रेसले महन्थजीको क्षेत्रमा उहाँका लागि भोट माग्नेछ,' निधिले भने।

आजै उनले महोत्तरी जिल्ला कांग्रेस सभापति महेन्द्र यादवलाई राजपा संयोजक ठाकुरका पक्षमा प्रचारमा उत्रिन आग्रह गरेका छन्। 'हाम्रो पार्टीको उम्मेदवार नभएपछि उहाँको जितका लागि कार्यकर्ता लाग्नेछन्,' निधिले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell