
एजेन्सीः अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीको आक्रमणबाट २६ जना मारिएका छन्। घटनामा केही घाइते भएका छन्। सदरल्याण्ड स्प्रिङ्स शहरमा भएको घटनामा बन्दुकधारी पनि मारिएको बिबिसीले जनाएको छ। मारिनेमा बालबालिका पनि रहेका छन्।
स्थानीय समयअनुसार बिहान करिव ११ः३० बजे प्रार्थना चलिरहेको चर्चमा एक युवा प्रवेश गरी गोली चलाएका थिए। घटनास्थल बाहिर अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले हमलाकारी युवा पनि मारिएको बताएको छ।
आक्रमणमा २० जना घाइते भएका छन्। घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले हत्यालाई अहिलेसम्मकै सबैभन्दा खराब नरसंहार भएको बताएका छन्।
अमेरिकामा अघिल्लो महिना लस भोगसमा एक सांगीतिक कार्यक्रममा गोली चल्दा ५८ जनाको मृत्यु भएको थियो। उक्त घटनाको एक महिनामै पुनः टेक्सासमा आक्रमण भएको हो।