PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

पर्वतमा जोशी र गिरीको रोचक भीडन्त : जोगाउलान् त जोशीले आफ्नो विरासत ?



नरहरि पौड्याल

पर्वतमा जोशी र गिरीको रोचक भीडन्त : जोगाउलान् त जोशीले आफ्नो विरासत ?

पोखरा :  प्रदेश नम्वर ४ अन्तर्गतको एउटा मात्र संसदीय निर्वाचन क्षेत्र रहेको पर्वतमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र वाम गठबन्धनकातर्फबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरीबीच कडा प्रतिस्पर्धा हुने भएको हो।

यसअघि लगातार तीन कार्यकाल जितेका जोशी यसपटक पनि चुनावी मैदानमा छन् भने वाम गठबन्धनकातर्फबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका गिरी छन्।

उम्मेदवारी मनोनयन दर्ता गरेसँगै उनीहरुले विभिन्न क्षेत्रमा पुगेर चुनाव प्रचारप्रसार अभियानलाई तिव्र पारेका छन्। आगामी ५ वर्षे कार्यकाललाई आफ्नो पोल्टामा पार्न दुवै गठबन्धन दलले जोडघटाउ थालिसकेका छन्।आमसभा र बैठकमा  दुबै दलमा आबद्ध नेता कार्यकार्ताहरु दिलोज्यानले लागिरहेका छन्। 

बाबुको राजनीतिक बिरासतलाई कायम राख्दै कांगे्रसको राजनीतिमा आएर तीन पटकसम्म जिल्लाबाट निर्वाचित भएका प्रभावशाली नेता जोशी लोकतान्त्रिक गठबन्धनका योग्य उम्मेदवारकारुपमा स्थापित छन्। 

उनी कांग्रेसको केन्द्रीय राजनीतिसमेत आफ्नो प्रभाव बढाउँदै गएका छन्। लामो समयसम्म कोइराला खेमामा रहेका जोशीले पार्टीको गत महाधिवेशनमा देउवा खेमामा छिरेर केन्द्रीय सदस्यसमेत हात पारेका हुन्। पर्वतमा कांग्रेस भित्र जोशीको राम्रो पकड छ। 

तर,जोशीको राजनीतिक बर्चश्वलाई कडा टक्कर दिन वाम गठबन्धनले पनि छोटो समयमानै लोकप्रिय बनेका युवा नेता पदम गिरीलाई चुनावी मैदानमा उतारेको छ। 

गिरी मध्यम वर्गीय परिवारमा जन्मिएर राजनीति र अध्ययन अगाडि बढाएका उदयीमान व्यक्तिकारुपमा परिचित छन्। उनी पश्चिमाञ्चलकै ठूलो र जेठो पृथ्वीनारायण क्याम्पसका पूर्व सभापतिसमेत हुन्।

राष्ट्रिय राजनीतिमा राम्रो पहुँच भएका गिरी ओली निकटस्थ मानिन्छन्। उनी जिल्ला अध्यक्षका लागि भएको खुल्ला मतदानमा ठूलो मतान्तरले विजयी भएका थिए। 

जोशीले जनजाति समुदायमा राम्रो प्रभाव पार्दै आएका थिए तर पछिल्लो समयमा जनजातिका बीचमा गिरीले पनि उत्तिकै लोकप्रिय छबि बनाएका छन्। यसले गर्दा पर्वतमा गिरी र जोशीको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

स्थानीय तह निर्वाचनमा प्राप्त मत तथा वाम गठबन्धन भएको अवस्थामा जोशी भन्दा गिरी अगाडि देखिन्छन्। जोशी तीन पटकसम्म परीक्षण भईसकेका नेता हुन् भने चौथो पटक आफ्नो विजय यात्रा सुनिश्चित गर्न चाहन्छन्।गिरी एक पटक पनि परीक्षण भएका छैनन्।

जोशीलाई तीन तीन पटक सांसद हुँदा पनि मन्त्री बन्न नसकेको र जिल्लाको दिर्घकालिन विकासमा खास योजना नबनाएको आरोप लाग्ने गरेको छ भने गिरीलाई जिल्ला अध्यक्ष भएपनि पुरानो क्षेत्र नम्बर २ मा कम प्रभाव भएको आरोप लाग्दै आएको छ ।

नेपाली कांग्रेस र उसका समर्थकहरु पुरानो क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गिरीको तुलनामा जोशी बढी भूगोलमा परिचित भएका कारण चुनाव जित्न सहज भएको आँकलन गरिरहेका छन्।

तर एमाले र गिरीका समर्थकहरु वाम गठबन्धन र गिरी आफैं लोकिप्रय मतका साथ पुरानो क्षेत्र नं १ बाट मत लिएर जाने तथा पुरानो क्षेत्र नं २ मा पनि युवाहरु र सिंगो पार्टी पंक्ति जिल्ला अध्यक्ष भएपछि परिचित भएका कारण यसपटक परिर्वतनको पक्षमा देखिने निष्कर्षसहित निर्वाचन जितिसकेको बताउँदै आएका छन्।

दुबै गठबन्धनबाट योग्य र क्षमतावान नेताहरु चुनावी मैदानमा छन्। कुन नेतालाई मतदान गर्दा समग्र पर्वतको विकास निर्माणले तिब्रता पाउँछ भन्ने लेखाजोखामा मतदाता रहेका छन्। 

गत संसदीय निर्वाचनमा जिल्लाबाट दलहरुले पाएको मतको अवस्था र स्थानीय तहको निर्वाचनमा नगरप्रमुख तथा अध्यक्षले प्राप्त गरेको मतलाई आधारमन्दा वाम गठबन्धन ५ हजार भन्दा बढी मतले अगाडि देखिन्छ।जिल्लामा कुल खसेको मत मध्ये वाम गठबन्धनको पक्षमा ३५ हजार २ सय ८४ मत देखिन्छ।

यो मत भन्दा ५ हजार १४ मत कम  लोकतान्त्रिक गठबन्धनका दलहरुको छ। त्यसमध्ये २९ हजार २२ मत नेपाली कांग्रेसको छ भने अन्य साना दललहरुको मत १ हजार २ सय ४८ मत गरी कुल ३० हजार ३ सय ६ मत छ। 

यसरी जिल्लाभर वाम गठबन्धनको फराकिलो अग्रता देखिन्छ।प्रदेशसभामा वाम गठबन्धनकातर्फबाट प्रदेश (क) मा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेत्र अधिकारी र (ख) मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद विकास लम्साल उम्मेदवार बनेका छन्। 

त्यसैगरी, नेपाली कांग्रेसले प्रदेश (क) मा नवराज गुरुङ र प्रदेश (ख) मा राजेन्द्रप्रसाद तिवारीलाई उम्मेदवार बनाएको छ। दुवै गठबन्धनका उम्मेदवारहरु सशक्त मानिन्छन्। प्रदेश सभाका उम्मेदवार हरुबीचपनि निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell