पोखरा : पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा-लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरे।
परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर, फोटोकपी र द्रूत गतिको इन्टरनेट सेवा जडान गरिएको छ।
सन् २०१९ मा नेपालमा आयोजना गरिने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यहाँ विभिन्न ६ वटा खेल हुने र ती खेलको समाचार संकलनमा सो सेन्टरले सञ्चारकर्मीलाई सहज हुने बताइएको छ।
सदस्य–सचिव विष्टले डेढ वर्षभित्र पोखरा रंगशाला अन्तर्राष्ट्रियस्तरको नमुना रंगशाला हुने विश्वास व्यक्त गरुे। यस रंगशाला अधिराज्यकै धेरै पूर्वाधार भएको रंगशाला भएको चर्चा गर्दै उहाले अब १-२ दिनभित्रमा ११ करोडको डोम कभर्डहल निर्माण गर्न बोलपत्र आह्वान गरिने र एक अर्बको लागतमा अत्याधुनिक प्याराफिटको फुटबल मैदान निर्माण गरिने पनि जानकारी गराए।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने र खेलकुदको क्षेत्रको विकासमा कायपलटनै हुने विचार व्यक्त गर्दै उनले खेलाडीलाई जीविकोपार्जनका लागि मासिक भत्ताको समेत व्यवस्था गर्न लागिएकाले खेलप्रति नेपाली युवायुवतीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे।
युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले १३औं साग खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न बजेटको कमी हुन नदिइने उल्लेख गर्दै पोखरामा ६ भन्दा बढी खेल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई मोफसलको खेलकुदको राजधानी बनाउने गरी पूर्वाधार निर्माण भइरहेको जानकारी गराए।