काठमाडौं : मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइराला यतिबेला चुनावी कार्यक्रममा व्यस्त छन्।
चुनावी कार्यक्रमको दौरानमा कोइरालाले आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।
कोइरालाको प्रतिबद्धतापत्रमा विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने उल्लेख गरिएको छ। ‘विराटनगर र यसको सेरोफेरोलाई प्रदेशको राजधानी बनाउनेछौ,’ प्रदेश र स्थानीय शीर्षकको पहिलो प्रतिबद्धतामा भनिएको छ।
‘कुनै समय राजनीतिको राजधानी रहेको विराटनगरको पूरानो साख फर्काउने प्रतिबद्धता मेरो हो,’ चुनावी कार्यक्रममा डा कोइरालाले भने। यसअघि प्रदेश १ को राजधानी सुनसरीको तरहरा वा इटहरी बनाइनुपर्ने प्रस्ताव अधिकांश दलले गरेका थिए।
यसैगरी कोइरालाले फुसको घर भएकालाई पाँच वर्षभित्र जस्तापाताले विस्थापित गर्ने, एक वर्षभित्र पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम अघि सारेका छन्।
प्रवेशिका परीक्षामा ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई ल्यापटप दिने, जातीय संग्राहलय बनाउने जस्ता प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
प्रतिवद्धता पत्रमा कोइरालाले संविधान संशोधनमार्फत मधेशी जनता, महिला, पिछडा वर्गको राजनीतिक अधिकारका साथै आर्थिक समृद्धिको आकंक्षा पूरा गर्न आफू मोरङका जनताको साथमा आएको उल्लेख गरेका छन्।
मोरङका केही गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने, सडक विस्तार र बनेका सडकको कालोपत्रे गर्ने, डुबानको अन्त्य गर्ने, खानेपानी व्यवस्थाको ग्यारेन्टी, ढल निर्माणलाई व्यवस्थित गर्नेलगायतका प्रतिबद्धता उनले गरेका छन्।
कोइरालाका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट एमाले नेता लालबाबु पण्डित छन्। मन्त्री हुँदा पण्डितको लोकप्रियता चुलिएको थियो। त्यसैले पनि यस क्षेत्रमा पण्डित र कोइरालाको कडा टक्कर हुने मतदाताको आँकलन छ ।