
टोकियो : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नरहेको बताएका छन्।
टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन्। उनले भने– यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा रहेको मानसिक स्वास्थ्य प्रमुख समस्या हो।
हाम्रो देशमा मानसिक स्वास्थ्यको ठूलो समस्या छ, यस्तो गोलीकाण्डमा पनि हतियार होइन कि मानसिक स्वास्थ्य प्रमुख समस्या हो।
उनले मानसिक रोगीहरुले नै अमेरिकामा गोली चलाउने र सर्वसाधारणको हत्या गर्ने गरेको बताए। यसअघि पनि उनले हतियारमात्र अमेरिकाको समस्या हो भन्नु गलत हुने बताएका थिए।
अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको बताइएको छ।
यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ। दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना घाइते भएका बताइएको छ।
आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो। हत्यापछि बन्दुकधारीको पनि मृत्यु भएको छ। तर उसको पहिचान भने भएको छैन। रासस/एएफपी