PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने



पहिलोपोस्ट

काठमाडौँ :  जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएका छन्। 

विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो। 

सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेका हुन्। 

खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए। 

उनले भने,‘उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गतवर्ष नै केन्द्र स्थापना गरिसकेका थियौँ यस महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्छौँ।’

यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष निर्माण हुन लागेको विभागले जनाएको छ। 

एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ। नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण भएका थिए। 

यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell