- नेत्र तामाङ
कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई खुल्ला रुपमा सघाउने घोषणा गरिसकेको छ।
कांग्रेसले पहिलो चरणमा गोरखा–२ मा नयाँ शक्तिका संयोजक डा भट्टराईलाई र सिन्धुपाल्चोक–२ मा राप्रपा अध्यक्ष राणालाई सघाउने भएको हो। त्यसैगरी दोस्रो चरणमा मकवानपुर–१ मा राप्रपा अध्यक्ष थापा, महोत्तरी–३ मा राजपा अध्यक्ष महन्थ ठाकुर र सप्तरी–२ मा फोरम अध्यक्ष उपेन्द्र यादवलाई सघाउने छ।
पाँचै दललाई राष्ट्रिय दलको मान्यता दिलाउने जिम्मा कांग्रेसको
एमाले वरिष्ठ नेता माधव नेपालले वाम गठबन्धनका कारण कांग्रेसको अवस्था प्रजा परिषद्को जस्तै हुने बताइरहेको अवस्थामा कांग्रेसले पाँच साना पार्टीका अध्यक्षलाई जिताउने जिम्मेवारीका साथ चुनावी अभियानमा लागेको छ।
योसँगै यी पाँचै दललाई राष्ट्रिय पार्टीको मान्यता दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ। संसदले गत चैतमा राजनीतिक दल घटाउन राजनीतिक दल दर्ता विधेयक ‘थ्रेसहोल्ड’ कायम गरेअनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नैपर्छ।
पछिल्लो थ्रेसहोल्डको नीति अनुसार २०७० को निर्वाचन परिणामलाई हेर्ने हो भने कांग्रेसले काँधमा लिएका कुनै पनि पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेका थिएनन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले मात्र तीन प्रतिशत मत प्राप्त गरेका थिए। थ्रेस होल्डको मान्यताअनुसार राप्रपा नेपालले प्रत्यक्षतर्फ एक सिट नजितेका कारण उसले पनि राष्ट्रिय दलको मान्यता पाउँदैनथ्यो। प्रत्यक्षतर्फ जितेका राप्रपा, फोरमले समानुपातिकतर्फ भने तीन प्रतिशत मत कटाउन सकेका थिएनन्।
टुटफुट-जुटबाट बनेका दलहरुको अवस्था
अहिले फोरम लोकतान्त्रिक औपचारिक रुपमा कांग्रेसमा मिलिसकेको छ। राप्रपा नेपाल पार्टी एकीकरणसँगै राप्रपा बनेको छ। समानुपातिकमा राप्रपाले २४ सिट पाएको थियो।
पार्टीको नाम परिवर्तन भएपनि चुनाव चिन्ह भने गाई नै रहेको छ। यता, राप्रपा (प्रजातान्त्रिक) दोस्रो संविधानसभामा राप्रपा थियो। कमल थापासँगको पार्टी एकीकरणपछि पुनः फुटेर यसले हलो चिन्ह लिएरै चुनावमा आएको छ। यो पार्टीले प्रत्यक्षमा ४ सिट पाएको थियो भने समानुपातिकमा १० सिट पाएको थियो।
यता संघीय समाजवादी फोरम अशोक राईको संघीय समाजवादी र उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम नेपाल मिलेर बनेको हो। दोस्रो संविधानसभामा फोरम नेपालको प्रत्यक्षमा २ सिट र समानुपातिकमा ८ सिट थियो। संघीय समाजवादीको समानुपातिकमा ५ सिटमात्र थियो।
यता नयाँ शक्ति भने नेकपा माओवादीबाट फुटेर बनेको नयाँ पार्टी हो। डा भट्टराई बाहेक राष्ट्रियस्तरका अरु कुनै नेता उक्त पार्टीमा नभएकाले उक्त पार्टीबाट उनको पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना कम रहेको छ।
राजपा तराईका ६ दल मिलेर बनेको पार्टी हो। तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाली सद्भावना पार्टी एकीकरण भएर बनेको पार्टी हो।
यसमा तमलोपाको ४ प्रत्यक्ष ७ समानुपातिक, सद्भावना पार्टीबाट एक प्रत्यक्ष ५ समानुपातिक, रामसपाको ३ समानुपातिक, फोरम गणतान्त्रिकको एक सिट रहेको थियो।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्ने हो भने संघीय समाजवादी फोरमले मात्र ३ प्रतिशत मत बढी कटाएको छ। राप्रपाले ३ प्रतिशत मत कटाएपनि अहिले फुटेर तीनवटा पार्टी भएकाले तीन प्रतिशत मत कटाउन राप्रपालाई हम्मेहम्मे हुने देखिन्छ ।