
ललितपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ललितपुरका विभिन्न क्षेत्रमा चुनावी चहलपहल बढेको छ।
आफ्नो पक्षमा मत बटुल्न पार्टीका नेता अहिले घर–घरमा भोट माग्न पुग्ने गरेको दृश्य देख्न पाइन्छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन जनता आतुर देखिन्छन्।
उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न कसरत गरिरहेका छन्। नयाँ संरचनाअनुसार हुन लागेको निर्वाचनले जनता उत्साहित भएका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य २०७० सालको दोस्रो सविधानसभाको निर्वाचनमा क्षेत्र नं ३ बाट विजयी भएका थिए। उनी अहिले पनि सो क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।
लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको जित आवश्यक भएको उनी बताउँछन्।विसं २०७० मा पाएको मत कायम राख्न सके पनि आफू विजयी हुने अमात्य बताउँछन्।
सो क्षेत्रबाट वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन्। उनी सोही क्षेत्रबाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विजयी भएकी थिइन्। आफ्नो जित सुनिश्चित गराउन उनी पनि घरदैलो अभियानमा जुटेकी छन्। उनी भन्छिन्,‘यसपटक पनि मलाई निर्वाचित गराएर पठाउनेमा म ढुक्क छु।’
क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ कांग्रेसका चन्द्र महर्जन उम्मेदवार छन्। यस क्षेत्रबाट दोस्रो संविधानसभाको निर्वाचनमा महर्जन विजयी भएका थिए।यस पटक पनि सजिलै चुनाव जित्नेमा उनी ढुक्क रहेको बताउँछन्।
सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट कृष्णलाल महर्जनको उम्मेदवारी रहेको छ। यस क्षेत्रबाट विसं २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार राजकाजी महर्जन विजयी भएका थिए। निर्वाचनमा वाम गठबन्धनको जित निश्चित भएको महर्जनको दाबी छ।
क्षेत्र नं १ मा कांग्रेसबाट उदय शमशेर राणा उम्मेदवार बनेका छन्। सो क्षेत्रबाट वाम गठबन्धनका नवराज सिलवाल उम्मेदवार छन्।
यहाँका जनताले आफुलाई निर्वाचित गराउनेमा विश्वस्त रहेको सिलवालको भनाइ छ। यस क्षेत्रबाट विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएका थिए।रासस