PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

बैतडीमा बाहलवाला र पूर्व राज्यमन्त्रीबीच चुनावी प्रतिस्पर्धा,  कसले मार्ला बाजी?



पहिलोपोस्ट

बैतडीमा बाहलवाला र पूर्व राज्यमन्त्रीबीच चुनावी प्रतिस्पर्धा,  कसले मार्ला बाजी?

बैतडी: प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन्।

चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन्। सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन्।

मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ। लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन्। चुनावी सभा र घरदैलोमार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन्। मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहोर्‍याइरहेको जनता बताउँछन्।

जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन्।

लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन्। प्रदेशसभा सदस्यका लागि बैतडी ‘क’ बाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी र बैतडी ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन्।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारेको छ। प्रदेशसभाका लागि ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनेका छन्।

यस्तै, प्रतिनिधिसभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा लड्ने भएका छन्। प्रदेश सभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell