PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

के छ वाम गठबन्धनको चुनावी घोषणापत्रमा?



पहिलोपोस्ट

के छ वाम गठबन्धनको चुनावी घोषणापत्रमा?

काठमाडौँः नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछन्। पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गरी अघि बढेका दुई दलले संयुक्त घोषणापत्र तयार पारेका हुन्। तिनकुनेस्थित रोयल व्याङ्केटमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। घोषणा पत्रको सार्वजनिक कार्यक्रममा दुवै दलका शीर्ष नेताको उपस्थितिमा हुँदैछ। प्रमुख दलमध्ये नेपाली कांग्रेसले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ।

 

के छ घोषणापत्रमा?

समसामयिक राजनीतिक विश्लेषणसँगै घोषणापत्रमा आर्थिक विकास र सामाजिक न्यायका विषय समेटिएका छन्। संविधान कार्यान्वयनमार्फत बहुदलीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत गर्ने राजनीतिक उदेश्य गठबन्धनको घोषणपत्रको प्रस्तावनामा लेखिएको छ।

वाम गठबन्धनको आवश्यकता र औचित्यमाथि पनि घोषणापत्र केन्द्रित छ। संविधानले परिकल्पना गरेको समाजवादका लागि वाम शक्तिहरु एकजुट हुनुपर्ने गठबन्धनको निश्कर्ष छ।

यसअघि माओवादीले प्राथमिकतासाथ उठाउँदै आएको संविधान संशोधनको विषय भने घोषणापत्रमा मौन छ। 

 

यस्ता छन् कार्यक्रम

महत्वकांक्षी कार्यक्रमले भरिएको घोषणापत्रमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमले पुनरागमन पाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले पनि प्राथमिकता पाएको छ।

पाँच वर्षमा गरिवी हटाउने, प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणापत्रमा उल्लेख छ।

पाँच वर्षमा ठूला र साना सहरहरुमा मेट्रो र मोनो रेलले घोषणापत्रमा प्राथमिकता पाएको छ। उपत्यकामा अबको तीन वर्षमा विद्युतीय सवारीसाधन मात्र हुने परिकल्पनालार्इ पनि घोषणापत्रमा समावेश गरिएको छ।

यसअघि पटकपटक प्रतिवद्धता गरिएको दश वर्षमा २० हजार मेगावाट विजुली वाम गठबन्धनको घोषणपत्रमा पनि अटेको छ। सबै सरकारले आ–आफ्ना पालामा गरेको यो प्रतिवद्धता अनुसार काम भने भएका छैनन्। वायु र जैविक फोहोरबाट समेत विद्युत उत्पादनको लक्ष्य लिइएको छ। उत्पादित विजुली भारत, चीनर वंगलादेशसम्म निर्यातको लक्ष्य घोषणापत्रमा लेखिएको छ। बुढीगण्डकी, पश्चिम सेती, नौमुरे जस्ता आयोजनालाई प्राथमिकता सूचीमा राखिएको छ। प्रसारण लाइन निर्माण र विस्तारलाई पनि स्थान दिइएको छ।

चार वर्षमा काठमाडौँ तराई फास्ट-ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य घोषणापत्रमा छ। तीव्र गतिका विद्युतीय रेलका विषयले पनि घोषणापत्रमा स्थान पाएका छन्। पूर्व–पश्चिम, तथा हुलाकी राजमार्गको स्तरोन्नतीको लक्ष्य पनि घोषणापत्रमा उल्लेख गरिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ५ वर्षमा कम्तीमा ६ लेनमा विस्तार गर्ने योजना घोषणापत्रमा छ।

 

कांग्रेस सामन्तवादको अवशेष

राजनीतिक विश्लेषण गर्दै गठबन्धनले कांग्रेस पूँजीपति वर्षको पार्टी भएको उल्लेख गरेको छ। सामन्तवादको अवशेष कांग्रेसमा रहेको घोषणापत्रमा उल्लेख छ। भस्टाचार संस्थागत गर्ने दल पनि कांग्रेस भएको घोषणापत्रमा उल्लेख गरेको छ। यसअघि कांग्रेसले पनि वाम दल भ्रस्टाचार संस्थागत गर्ने दल भएको आरोप लगाएको थियो।

कांग्रेसले सार्वजनिक संस्थान मासेको, निजीकरणका नाममा उद्योगधन्दा समाप्त पारेको आरोप वाग गठबन्धनले लगाएका छन्। वैदेशिक हस्तक्षेपलाई निम्त्याउने पार्टीका रुपमा वाम गठबन्धनले कांग्रेसलाई चित्रण गरेका छन्।

वाम गठबन्धनले मधेशी दललाई सामान्तवादको संरक्षण गर्ने सानो हिस्साका प्रतिनिधि दल भनेको छ। मधेशी दललाई आत्मसमर्पणबादी दल भएको पनि घोषणापत्रमा उल्लेख छ। राप्रपालाई अवसरवादी र पश्चगामी दलका रुपमा परिभाषित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell