काठमाडौँ: निर्वाचन आयोगले आसन्न मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको छपार्इ सकेको छ। आयोगले दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रको मतपत्र छपार्इ पनि सुरु गरेको छ। पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतपत्रसहितका सामाग्री सम्वन्धित जिल्लामा पठाउने काम आयोगले सुरु गरेको छ।
आयोग प्रवक्ता नवराज ढकालले पहिलो चरणको प्रत्यक्षको मतपत्र छपाइ सकिएको बताए। ढकालले पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका आवश्यक सामाग्री पठाउन सुरु गरिएको जानकारी दिए।
पहिलो चरणमा प्रदेश नम्बर २ बाहेकका उच्च हिमाली जिल्लामा मतदान हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रत्यक्षका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ। आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि झण्डै ४० लाख मतपत्र छापेको छ।
सर्वोच्चको आदेशअनुसार मतपत्रको डिजाइन परिवर्तन गरेका कारण निर्वाचन तयारीमा केही ढिला भएको छ। मतदाता शिक्षा कार्यक्रमका सामाग्री परिमार्जन गर्नु पर्ने अवस्था सिर्जना भएपछि मतदाता कार्यकर्ता फिल्डमा पुग्न केही ढिलाई भएको छ। आयोगले कात्तिक २५ भित्र सबै क्षेत्रमा मतदाता शिक्षाका लागि कर्मचारी खटाइसक्ने जनाएको छ।