PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक पदमार्ग सुरु



पहिलोपोस्ट

अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक पदमार्ग सुरु

लमजुङ :  अन्नपूर्ण चक्रिय पदयात्राका लागि वैकल्पिक मार्ग सुरुवात गरिएको छ। मनाङसम्म मोटरबाटो निर्माण भएर पदयात्रामा प्रभाव पर्न थालेपछि मनाङ–लमजुङ होटल व्यवसायी समितिले वैकल्पिक पदमार्ग निर्माण गरेको हो। 

बेँसीशहरबाट खुदीसम्म निर्माण सम्पन्न वैकल्पिक मार्गको एक कार्यक्रमबीच सोमबार उद्घाटन गरिएको हो। पूर्व सांसद जमिन्द्रमान घलेले पदमार्गको उद्घाटन गरेका हुन्। पदमार्ग उद्घाटनसँगै कार्यक्रमका सहभागीले पदयात्रासमेत गरेका थिए। 

अहिलेको अन्नपूर्ण पदमार्गमा मोटरबाटोका कारण अवधि छोटिँदै जानु र सवारीकै कारण पदयात्रामा अनेक समस्या आउन थालेपछि नयाँ विकल्प खोजिएको वैकल्पिक पदमार्ग निर्माण समिति सचिव पूर्णबहादुर गुरुङले बताए। 

‘पदमार्ग छोटिँदा र सवारी समस्याका कारण पर्यटकको संख्या अघिल्ला वर्षको अनुपातमा बढ्न सकेको छैन’, गुरुङले भने,‘विगतको अनुपातमा पर्यटक घट्दै गएका कारण उनीहरुलाई आकर्षित गर्न नयाँ मार्ग आवश्यक भयो ।’ 

पैदलयात्रा मार्गको निर्माण र सुरुवातसँगै यस क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र नयाँ पर्यटकीय गन्तव्यको खोजीमासमेत लागिपरेको वैकल्पिक पदमार्ग अभियन्ता एवं पर्यटन व्यवसायी त्रिपल टी गुरुङले बताए। 

बेँसीशहरको पुमाखोलाबाट मस्र्याङ्दी गाउँपालिकाको खुदीसम्म वैकल्पिक पदमार्ग निर्माण भइसकेको छ। पदमार्गमा पर्यटन बोर्डको सहयोगमा पर्यटकीय पथप्रदर्शक सूचना राख्नुका साथै, सिँडी लगाउने, जोखिमस्थानमा जाली लगाउने, खोलामा काठेपुल राख्नेजस्ता काम गरिएको छ। 

खुदीदेखि बाहुनडाँडा, स्यागे हुँदै मनाङका विभिन्न गाउँलाई जोडेर पदमार्ग निर्माणाधीन अवस्थामा रहेको पनि समितिले जनाएको छ। पदयात्रा छोट्टिएसँगै धरापमा रहेका होटल व्यवसायी पनि वैकल्पिक पदमार्ग सञ्चालनमा आएपछि उत्साहित भएका छन्। 

सदरमुकाम बेँसीशहर भएर वार्षिक २५ हजारको हाराहारीमा पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन्। पहिले–पहिले बेँसीशहरबाट सुरु भएको अन्नपूर्ण पदयात्रा मनाङ, मुस्ताङको मुक्तिनाथ, जोमसोम, म्याग्दी हुँदै २१ दिनमा पोखरामा टुङ्गिन्थ्यो। पछिल्लो समय दुवैतर्फबाट मोटर सञ्चालन भएपछि २१ दिनको यात्रा एक सातामा टुङ्गिने गरेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell