काठमाडौं : युरोपियन युनियनको पर्यवेक्षण मिसनले मंसिर १० र २१ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावमा पर्यवेक्षण गर्ने भएको छ। पर्यवेक्षणका लागि इयूले नेपालमा मिसन राखेर काम शुरु गर्ने भएको हो।
पर्यवेक्षण मिसनको नेतृत्व क्रोयसियाबाट प्रतिनिधित्व गर्ने युरोपेली संसदको सदस्य जेल्याना जोभ्कोले गरेकी छिन्। मिसनमा सयभन्दा बढी पर्यवेक्षकहरुले काम शुरु गरेको प्रेस अधिकृत सारा फ्राजले बताइन्।
नेपाल सरकारको आग्रह र निर्वाचन आयोगको समन्वयमा आफूहरु पर्यवेक्षणमा रहने उनले बताइन। ३५ लाख यूरो मिसनमा खर्च हुने मिसन प्रमुख जेल्यानाले जानकारी गराइन।
मिसनले निर्वाचन प्रकृयासँग सम्वन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रकृया सम्वन्धित कानुनी मुद्धाहरुको विश्लेषण गर्दै यसलाई बन्दोवस्ती तथा सुरक्षा सम्वन्धी विज्ञहरुले सहयोग गर्ने जेल्यानाले बताइन।
निर्वाचन भय रहित वातावरणमा भएको छ कि छैन भन्नेमा पर्यवेक्षमा मिसनले ध्यान दिने फ्राजले बताइन्।
मिसनको चासो निर्वाचनको वातावरण, भय रहित वातावरणमा मतदान भएको छ कि छैन हेर्ने र मतदानपछिको मतगणना प्रकृया लगायतमा पर्यवेक्षण गर्ने जेल्यानाले जानकारी दिइन्।
पर्यवेक्षणको क्रममा सबै किसिमका सञ्चार माध्यममा प्रकाशित समाचारलाई पनि अनुगमनको दायरामा राख्ने उनको भनाइ छ।
३८ जनाको दीर्घकालीन पर्यवेक्षकहरु हाल मिसनमा संलग्न छन्। मतदानपछि मतगणनाको पर्यवेक्षणमा थप २५ जना आउने छन्।
दीर्घकालीन तथा अल्पकालीन पर्यवेक्षकहरुलाई यूरोपेली संसदको सात सदस्यीय प्रतिनिधिमण्डल एवं नेपालमा रहेका यूरोपेली राष्ट्रका कुटनीतिज्ञहरुले साथ दिने बताइएको छ।