मनाङ : मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौँंमा छन्।
मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौँमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार काठमाडौँमा प्रचार गर्न गएका हुन्।
काठमाडौँमा बसोबास गर्ने मनाङबासीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौँ पसेका हुन्।
विशेष गरी माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौँ बसोबास गर्दै आएका छन्।
काठमाडौँमा बसेका मतदाता मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौँ पुगेका हुन्। मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल कांग्रेस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन्।
कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौँमा प्रचारप्रसारमा खटिरहेको कांग्रेसका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए।
त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमालेले जनाएको छ।
मनाङका आधाभन्दा बढी मतदाता काठमाडौँमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौँ गएका हुन्।रासस