PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन, घोषणापत्र सार्वजनिक गर्दाका रोचक ६ दृश्य



नेत्र तामाङ

दुई वाम पार्टीका अध्यक्ष भएको कार्यक्रमको अध्यक्षता गर्ने कोही भएन, घोषणापत्र सार्वजनिक गर्दाका रोचक ६ दृश्य

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संयुक्त रुपमा साझा घोषणापत्र जारी गरे। कार्यक्रमका पाँच रोचक दृश्य

१) प्रचण्डलाई जबर्जस्ती उठाएर बोल्न लगाइयो

घोषणापत्र जारी हुनासाथ एमालेको महासचिव ईश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डलाई घोषणापत्रबारे बोल्न अनुरोध गरे। आसनमा बसिरहेका प्रचण्ड अगाडि माइकको व्यवस्था थियो। त्यसैले उनले नउठिकनै त्यहीँबाट आफ्नो भनाई राख्ने कोशिश गरे। यता मञ्चमा टेलिभिजनका माइक (बुम) हरु राखिएकोले सञ्चारकर्मीहरु कराउन थाले। यता कार्यक्रम सञ्चालक पोखरेलले पनि उनलाई मञ्चमै आएर बोल्न अनुरोध गरे। त्यसपछि भने प्रचण्ड मञ्चमै पुगेर आफ्नो भनाई राख्न बाध्य भए। प्रचण्ड पोडियममा पुगेपछि सुरक्षाकर्मीले टेलिभिजनका बुमहरु होचो बनाउने क्रममा सबै बुमका लोगो नदेखिने बनेको थियो।
 

२) ओली उठ्न मानेनन्, बसेरै बोले

प्रचण्डको पालो सकेपछि एमाले अध्यक्ष ओलीको पालो आयो। उनलाई पनि मञ्चमै गएर बोल्न अनुरोध गरियो। तर, ओलीले भने कसैको कुरा सुनेनन्। कुनै माइक ल्याउनु छ भन्दै उनले आसनस्थलबाटै घोषणापत्रबारे आफ्नो भनाई सुरु गरे। ओलीले आसनस्थलबाटै बोल्न थालेपछि टेलिभिजनका बुम र रेकर्डिङ डिभाइसहरु ओली आसनअघिकै टेबलमा राख्न केही समय लागेको थियो।


३) ओलीभन्दा प्रचण्ड १० मिनेट ढिला

साझा घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो १ बजे गरिने कार्यक्रम थियो। तोकिएकै समयमा मञ्च भरिभराउ हुँदै थियो। १ बजेर १० मिनेटमा एमाले अध्यक्ष ओली कार्यक्रमस्थलमा आइपुगे। उनीअघि एमालेका भरतमोहन अधिकारी, विजय सुब्बा, केशव बडालहरु आइपुगिसकेका थिए।
ओली आइपुगेको १० मिनेटपछि मात्र १ बजेर २० मिनेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रमस्थल आइपुगे। उनीसँग माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेलहरु आइपुगे। 

४) कार्यक्रमको अध्यक्षता कसैले गरेनन्

सामान्यतया सार्वजनिक कार्यक्रममा कार्यक्रममा अध्यक्ष तोकिन्छन्। कार्यक्रममा सहभागीहरुले कसलाई अध्यक्ष बनाउलान् भनेर जिज्ञासा राखिरहेका थिए। मञ्चमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी नेता रामबहादुर थापा ‘बादल’ थिए।

यता, कार्यक्रम सुरु गर्नुअघि कार्यक्रम सञ्चालक एमालेका महासचिव पोखरेलले ‘अध्यक्षता कोही हुँदैनन् हैन?’ भनेर प्रश्न गरे। सँगै पोखरेलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साझा घोषणापत्र सार्वजनिक गर्न आग्रह गरे। 

५) कार्यक्रम सकिँदा माधव नेपालको प्रवेश, बोलेनन् नेपाल

एमाले अध्यक्ष ओली आफ्नो भनाई बिट मार्ने सिलसिलामा थिए। २ बजेर २० मिनेटमा ओलीले कार्यक्रममा आइपुगेका सबैलाई धन्यवाद दिएर आफ्नो भनाईको बिट मारे। त्यसको केही समयअघि २ बजेर १४ मिनेटमा एमाले वरिष्ठ नेता माधव नेपाल कार्यक्रमस्थल आइपुगे।
 
ओलीले आफ्नो भनाई टुङ्ग्याउनसाथ पोखरेलले नेपाललाई घोषणापत्रमाथि उठेका प्रश्नको उत्तर दिन आग्रह गरेका थिए। तर, नेपालले समय दिएनन् र कार्यक्रम सम्पन्न भएको उद्घोष गरियो । त्यसपछि घोषणापत्रमाथि सञ्चारकर्मीले प्रश्न गर्न पाएनन्। 

६) नेताहरुको उपस्थिति न्यून

रोयल ब्याङ्क्वेटको हल भरिभराउ थियो। तर, एमाले र माओवादी केन्द्रीय नेताहरुको उपस्थिति निकै कम थियो। एमालेबाट भरतमोहन अधिकारी, शान्ता मानवी, डा विजय सुब्बा, केशव बडाललगायतको उपस्थिति थियो भने माओवादीबाट रामबहादुर थापा बादल, पम्फा भुसाल, लीलामणि पोखरेललगायतको उपस्थिति देखिएको थियो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell