काबुल: अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन्। घटनामा २१ जना अन्य घाइते भएका बताइएको छ।
काबुलको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी सामसद टेलिभिजनमा बिहानै दुई आक्रमणकारीले हमला गरेका सुरक्षा स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएका छन्।
मृतकमा सुरक्षा गार्ड, एक जना महिला कामदार र दुई आक्रमणकारी रहेका बताइएको छ। एक जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीको भेषमा आएका आक्रमणकारीले टेलिभिजनको भवनमा शरण लिई सुरक्षाकर्मीको सङ्कट व्यवस्थापन एकाईका अधिकारीमाथिसमेत आक्रमण गरेपछि सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो।
आक्रमणको सूचनापछि घटनास्थल पुगेको सुरक्षाकर्मीको समूहले करिब तीनघण्टापछि स्थितिलाई नियन्त्रणमा लिएको थियो। एकअर्को समूहबीच गोली चलेपछि अन्ततः सुरक्षाकर्मीले दर्जनौ सञ्चारकर्मी तथा टेलिभिजन कार्यालयका कर्मचारीलाई उद्धार गरेका थिए।
घाइतेमध्ये केही सञ्चारकर्मी तथा चारजना बारुद नियन्त्रण अधिकारी रहेका यहाँको प्रहरीले एक वक्तव्य जारी गरी जानकारी गराएको छ। आक्रमणको अफगानी राष्ट्रपति असरफ घानी, अफगानी पत्रकार सुरक्षा समितिलगायतले कडा शब्दमा निन्दा गरेका छन्। रासस/सिन्ह्वा