PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मधेशकेन्द्रित दलहरु घोषणापत्र बिना चुनावमा



बीपी साह

मधेशकेन्द्रित दलहरु घोषणापत्र बिना चुनावमा

काठमाडौं : प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गर्दै मतदातालाई लोभ्याउने काम थालिसकेका छन्।

बौद्धिक मतदाताका लागि र पार्टीको धारणा सार्वजनिक गर्न चुनावी घोषणापत्र महत्वपूर्ण मानिन्छ। तर मतदान नजिकिदै जाँदा पनि मधेशकेन्द्रित दलहरुले घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।

मधेशकेन्द्रित दलमध्येको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणापत्र तयार गर्न समितिसमेत बनाउन सकेको छैन।
 
पहिलोपोस्टसँगको कुराकानीमा राजपाका महासचिव मनिष सुमनले भने,‘हालसम्म पार्टीको घोषणापत्र तयार भएको छैन। हामी सबै नेताहरु अहिले आ–आफ्नो क्षेत्रमा रहेकाले घोषणापत्र तयार हुन सकेको छैन।’

सुमनले घोषणापत्र एउटा समितिको जिम्मा दिएर बनाउने भने पनि हालसम्म समिति गठन हुन नसकेको बताए। सुमनले भने,‘हामी आन्दोलनकारी पार्टी हौं। हाम्रा एजेण्डाहरु जनताले बुझेका छन्। त्यसकारण हाम्रो प्राथमिकतामा घोषणापत्र परेको छैन।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको ६ वटा पार्टी मिलेर बनेको राजपामा दस्तावेजहरु निर्माणका लागि विवाद हुँदै आएको छ। पार्टीको विधान पनि विवादरहित बनेको छैन। स्थानीय निकाय निर्वाचनको घोषणापत्रमा पनि निकै विवाद भएको थियो।
 
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणापत्र निर्माणमा पुनः विवाद हुने भन्दै नेताहरु पन्छिन खोजेका छन्। यही कारण घोषणापत्र घोषणामा ढिला भइरहेको छ।

यता संघीय समाजवादी फोरम नेपालले पनि हालसम्म चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेको छैन। फोरम नेपालकी नेतृ रेखा यादवले पहिलोपोेस्टसँग भनिन्,‘हाम्रो चुनावी घोषणापत्र तयार भइरहेको छ । बुधबार रातिसम्म फाइनल हुनेछ।’

यसै साताभित्र घोषणापत्र सार्वजनिक हुन सक्ने यादवले बताइन् ।

स्थानीय निकायको निर्वाचनलगतै पार्टीका शिर्ष नेताहरु चुनावमा खटेकाले घोषणापत्र तयारीमा ढिलाइ भएको उनले बताइन् ।

नेपाली कांग्रेसको घोषणापत्र, नेकपा एमाले र माओवादी (केन्द्र)को संयुक्त घोषणापत्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक भइसकेको छ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell