PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

निधिलाई मधेशमा भोट माग्ने नैतिकता छैन, ब्यालेटले सहिद बनाइदिन्छौं : महतो



पहिलोपोस्ट

निधिलाई मधेशमा भोट माग्ने नैतिकता छैन, ब्यालेटले सहिद बनाइदिन्छौं : महतो

धनुषा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यस पटकको चुनावमा हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन।

बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा आयोजना गरेको चुनावी साक्षात्कारमा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचन रुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने, ‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ। आन्दोलनमा सहभागी भएका सम्पूर्ण जनताले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेलाई हराएर पठाउनुपर्छ।’

साक्षात्कारमा बोल्दै नेता महतोले विगतमा मधेश आन्दोलनका विरुद्ध सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसे पनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले जवाफ दिने बेला आएको स्पष्ट पारे।

उनले भने, ‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन्। सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाइको हत्या भयो। अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छ। मधेशी जनताको विरुद्धमा जारी भएको संविधान हामीलाई स्विकार्य छैन। यो संविधानको हस्ताक्षर गरेर मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यही जनकपुरका हुन्।’

महतोले निधिसँग जनकपुरका जनताले बदला लिनेसमेत दाबी गरे। उनले आफू सर्लाहीको मान्छे धनुषा आएकोमा ठूलो विषय नबनाउन आग्रह गर्दै भने, ‘आन्दोलनकारीको कुनै गाउँ, घर, क्षेत्र र जिल्ला हुँदैन हामी अहिले पनि आन्दोलनकै क्रममा छौँ, विगतमा ६÷६ महिना विरगन्जमा गएर आन्दोलन गरेँ, कहिले जनकपुर, कहिले विराटनगरमा गएँ, यो निर्वाचनमा पनि हामी आन्दोलन गर्न आएका हौँ।’

उनले पार्टी नेतृत्वको सल्लाह र आम मधेशी जनताहरुको मागअनुसार नै आफू धनुषामा चुनाव लड्न आएको स्पष्ट पारे। उनले भने, ‘उच्च प्राथमिकताका साथ म जनताको माग, आग्रहलाई सम्मान गर्दै यहाँ चुनाव लड्न आएको छु, जनकपुरको विजयी भनेको सम्पूर्ण मधेशको विजयी हो। यहाँको सफलता भनेको सबैको सफलता पनि, धनुषालाई प्राथमिकतामा लिएका छ।’

समग्र मधेशमा तपाईहरुले कति सिट जित्नुहुन्छ ? भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा नेता महतोले भने, ‘आन्दोलनले चुनाव जित्छ। जनताले जति सिट जिताउँछ, त्यति सिट जित्छौँ। तर यति कुरा प्रष्ट हुनुहोस हामी अध्यधिक धेरै सिट जित्छौँ। अब कांग्रेसीको दिन गए। उनीहरुले हाम्रो विकास गरेनन्। जनताले कुरा बुझिसके। यहाँ मधेशवादीबाहेक अरु कसैको केही चल्नेवाला छैन। अब जनता भ्रममा छैनन्। भोलि मधेशविरोधी नै चुनाव जितेर गए भने मधेश आन्दोलन गलत थियो भन्छन्, त्यसैले जनता सतर्क छन्। यो पटक जनताको हातमा बन्दुक छ। त्यो बन्दुक भनेको ब्यालेट हो। बुलेटभन्दा पनि ब्यालेट नै तागददार छ। ब्यालेटले सहिद बनाईदिन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell