
चितवन : भारतमा भेटिएको दुर्लभ एक सिँगे गैँडाको उद्दारका लागि चितवन राष्ट्रिय निकुञ्जले प्राविधिक सहितको टोली परिचालन गरेको छ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ। भारतबाट प्राप्त सूचनाका आधारमा अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि आज उद्दार टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए।
उनका अनुसार चितवनबाट चारवटा हात्तीसहित करिब ४० जनाको टोली आज बिहानै भारत पुगेका छन्। भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीको सहयोगमा गैँडाको उद्दार गरिने जनाइएको छ। नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेटिएको थियो।
दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पुर्याएकाले गैँडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइने भएको छ। यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्दार गरिसकिएको छ। रासस