कपिलवस्तु : प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल सृजना हुन सकेको छैन।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएको करिब एक साता भइसक्दा पनि जिल्लामा चुनावी माहोल सृजना हुन नसकेको हो।
प्रतिनिधि सभाका लागि तीन वटा क्षेत्र रहेको कपिलवस्तुमा दलहरुले उम्मेदवारी दर्ता गराएपछि चहलपहल बढ्नुपर्ने हो तर, चहलपहल नदेखिएको निर्वाचन पर्यवेक्षक पशुपतिमणि त्रिपाठीले बताए।
नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवार अझै पार्टीको आन्तरिक नेता कार्यकर्ता बीचको मनमुटाव मिलाउनमा नै व्यस्त रहेका कारण माहोल शुरु नभएको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश घिमिरेले बताए।
स्थानीय तहमा आम मतदाता आफ्ना प्रतिनिधि चयन गर्न जति आतुर देखिन्थे, त्यस्तो अवस्था अहिलेसम्म नदेखेको स्वतन्त्र बुद्धिजीवी रामदयाल ठाकुरले जानकारी दिए।
आममतदातामा स्थानीय तहको निर्वाचनमा आफ्नो वडा, गाउँ र नगरको प्रतिनिधि आफूले चुनेर स्थानीय तह सञ्चालन भए गाउँको विकास हुने ठूलो आशा भरोसा पलाएको थियो। तर प्रतिनिधि र प्रदेश सभा सदस्य चयनमा ती मतदातामा खासै उत्साह देखिएको छैन। जो आए पनि उस्तै हो भन्ने सोचाइ यहाँका आम मतदातामा देखिन्छ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्याय र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता चक्रपाणी खनालबीच प्रतिस्पर्धा देखिएको छ।
त्यसैगरी क्षेत्र नं २ मा राजपा परित्याग गरी एमालेको चुनाव चिह्नबाट निर्वाचनमा उम्मेदवारी दिएका वृजेशकुमार गुप्ता र कांग्रेसका सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा छ। क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम परित्याग गरी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अभिषेकप्रताप शाह, राजपा परित्याग गरी नेकपा (एमाले)को चुनाव चिह्नबाट उम्मेदवारी दिएका ईश्वर दयाल मिश्रा रहेका छन्। रासस