PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

कांग्रेस परिचालन संयोजक खाँणको काउन्टर एट्याक, वाम गठवन्धनको ठूला नेताको जमानत जफत हुनेछ



पहिलोपोस्ट

कांग्रेस परिचालन संयोजक खाँणको काउन्टर एट्याक, वाम गठवन्धनको ठूला नेताको जमानत जफत हुनेछ

काठमाडौं : नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले वाम गठबन्धनका वरिष्ठ नेताहरुको जमानत जफत हुने दाबी गरेका छन्।

कांग्रेस निर्वाचन परिचालन समितिले बुधबार आफ्नो केन्द्रीय कार्यालय सानेपामा पत्रकार भेटघाट आयोजना गरी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धन कमजोर भइसकेकाले यसपटकको निर्वाचनमा जमानत गुमाउने दाबी गरेका हुन्।

मंगलबार सार्वजनिक वाम गठबन्धनको घोषणापत्रप्रति लक्षित गर्दै खाँणले भने ‘यसपटक एमाले र माओवादीका ठूला नेताको जमानत जफत हुनेछ।'

कार्यक्रममा खाँणले कम्युनिस्ट शासन अधिनायकवादी हुने भएकाले यसपटकको निर्वाचन वाम गठबन्धनका लागि अन्तिम हुन सक्ने आँकलनसमेत गरे।

वाम गठबन्धनविरुद्ध केके आरोप लगाए खाँणले ?

१) नयाँ संविधान विस्थापन गर्ने प्रयत्नमा वाम गठबन्धन

एकल पहिचानलगायतका विषयमा वाम गठबन्धन संविधान जारी गर्दा असन्तुष्ट थिए। एमाले र माओवादी केन्द्र दुई तिहाई ल्याएर ती अभीष्ट पुरा गर्ने प्रयत्नमा छन् । यो नयाँ संविधानलाई विस्थापन गर्ने चेष्ट हो।

२) साम्प्रदायिकता फाटो ल्याउने पार्टी वाम गठबन्धन

एमाले र माओवादीले सम्प्रदायिक फाटो ल्याउन खोजेका छन्। हिमाल, पहाड र मधेसका जनतालाई एकअर्काविरुद्ध उठाएर विदेशी तत्वहरुलाई सल्बलाउने मौका दिएका छन्। नेपाल विविधता भएको मुलुक भएकोले यसका विरुद्ध यस्तो फाटो ल्याउने पार्टीहरु राष्ट्रवादी हुन सक्दैन।

३) मार्क्सको फोटो पुजेर कसरी राष्ट्रवादी हुनसक्छ

मार्क्सको फोटो, संग्रहालयमा राख्न लायक मार्क्स र लेनिनका विचार र सिद्धान्त बोकेर हिड्ने पार्टी कसरी राष्ट्रवादी हुन सक्छ। कम्युनिस्ट शासन विश्वमै लोप हुने अवस्थामा रहेको बेला एमाले र माओवादी मिलेर नेपाललाई प्रयोगशाला बनाउन लागेका छन्। सहअस्तित्व स्वीकार गर्न नसक्ने यस्तो गठबन्धन लोकतन्त्रका लागि खतरा छ।

कम्युनिस्टका ठूला नेताको जमानत जफत हुन्छ

निरंकुशता लाद्न खोज्ने हो भने कम्युनिस्टहरुलाई जनताले रुचाउने छैनन्। यो उनीहरुको लागि अन्तिम निर्वाचन हुनेछ। यो निर्वाचनमा ठूला भनिने वाम गठबन्धनका नेताहरुको जमानत जफत हुनेछ। दुई तिहाई उम्मेदवारी नै नदिने पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेर वाम गठबन्धनले जग हँसाएको छ। ६६ प्रतिशत नै उम्मेदवारी नदिएको एमालेले कसरी बहुमत ल्याउँछ। ४० प्रतिशत नै उम्मेदवारी नदिएको माओवादीले कसरी बहुमत ल्याउनै सक्दैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell