जनकपुरधाम : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस मधेश र मधेशीको हितमा सधै वकालत गर्ने दल भएको बताएका छन्।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै देउवाले मधेशका मुद्दा सम्बोधन गर्न संविधान संशोधनका लागि खेल्नुपर्ने अग्रणी भूमिका पनि कांग्रेसको काँधमा रहेको उल्लेख गरे।
देउवाले भने, 'सबैको अस्तित्वको सम्मान र रक्षाका लागि कांग्रेस सधैँ संवेदनशील रहेको छ। जनताको अस्तित्वसँग खेलवाड गर्न उद्यत रहेकोप्रति सबै सजग हुनु जरूरी छ।'
जनकपुरधाम र मधेसको विकासका सवालमा कांग्रेस सरकारले विशेष योजना कार्यान्वयन गरेको प्रशंग पनि उनले उल्लेख गरे।
देउवाले भने, 'बाढीपीडितलाई यथोचित राहत र बाढी समस्याको दीर्घकालीन समाधानका लागि पनि सरकारले योजना अघि सारेको छ।'
नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले कांगे्रसकै पहल र सक्रियतामा जनकपुरधाममा सडक विस्तार, सडक स्तरोन्नति, मणिमण्डप विकास योजना, पोखरी संरक्षण योजना र राजर्षिजनक विश्वविद्यालय स्थापना विधेयक पारित भएको बताए। कार्यक्रम जिल्ला सभापति रामसरोज यादवको अध्यक्षतामा भएको थियो। रासस