PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त



पहिलोपोस्ट

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिएका छन्।

बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी संघ संस्थाद्वारा प्रस्तुत नागरिक अपिल ग्रहण गर्दै यादवले निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारबाट हुनसक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्न आयोगले सचेत पारेको बताए।

शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालकालिकाको प्रयोग हुनुहुन्न भन्ने सन्देश दिन जिल्ला तहमा सचेतना र्‍याली निकाल्न सुझाव दिँदै आयुक्त डा. यादवले शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गरिनु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गरे।

यस अवसरमा प्रस्तुत गरिएको नागरिक अपिलमा विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्ते लेखन, जुलुस, राजनीतिक छलफल, अन्तरक्रिया, गोष्ठी र सभा नगर्न, पठनपाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउन तथा विद्यालयको पठनपाठनलाई नियमित तुल्याउन सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न अपिल गरिए पनि अन्यत्र स्थान अभावका कारण अधिकांश विद्यालयमा नै मतदान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगको तर्फबाट सो अवसरमा जानकारी गराइएको थियो।

अपिल प्रस्तुत गर्न शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह र शिक्षा पत्रकार सञ्जालका प्रतिनिधि आयोग पुगेका थिए। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell