
नुवाकोट: आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ।
निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नु पर्ने बाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो। नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ का लागि एक लाख १९ हजार, प्रदेश सभातर्फ (क) का लागि ५९ हजार र (ख) का लागी ६० हजार थान मतपत्र आएको छ। यस्तै, समानुपातिकतर्फ एक लाख १९ हजार मतपत्र आएको क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए।
क्षेत्र नं २ का लागि प्रत्यक्षतर्फ एक लाख १६ हजार मतपत्र जिल्ला आइपुगेको छ । प्रदेश सभातर्फ (क) र (ख) का लागि समान ५८/५८ हजार थान मतपत्र आएको छ । २ नं. क्षेत्रको समानुपातिकतर्फ एकलाख १६ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिए।
मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा ल्याएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ। नुवाकोटमा कुल मतदाता दुई लाख आठ हजार १९१ रहेका छन्। रासस