
काठमाडौँ: शिक्षक सेवा आयोगले २६ हजारभन्दा बढी अस्थायी शिक्षकको स्थायी गर्ने प्रक्रिया सुरु गरेको छ। आन्तरिक प्रतिस्पर्धाका आधारमा अस्थायी शिक्षकलाई स्थायीको प्रक्रिया सुरु गरिएको हो। निकै विवादित बनेको शिक्षा ऐन नवौँ संशोधनले अस्थायी शिक्षकलाई न्युनतम ४० अंक ल्याई पास भएमा जागिर सुनिश्चित गरेको छ। फेल भएमा आर्थिक सुविधा पाउँनेछन्।
शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरु गरे पनि शिक्षकहरुकै विरोधका कारण परीक्षा हुन सकेको थिएन। आन्दोलनले फेल हुने शिक्षकलाई समेत आर्थिक सुविधा दिने गरी सरकारलाई गलाउन सफल भएपछि ऐन एक वर्षमै संशोधन भएको थियो। संशोधित ऐन प्रमाणीकरण भएपछि आयोगले स्थायीको प्रक्रिया अघि बढाएको हो।
आयोगले २०७३ चैत १९ गतेको सूचनाअनुसार नै परीक्षाका मापदण्ड तोकेको छ।
शिक्षा ऐन आठौँ संशोधनपछि आयोगले सूचना प्रकाशित गरी २०७३ असार २३ मा परीक्षा तोकेको थियो। ऐनले अस्थायी शिक्षकलाई परीक्षामा सामेल वा आर्थिक सुविधा रोज्ने विकल्प दिएको थियो। तर, नयाँ संशोधनले परीक्षामा असफल भए पनि आर्थिक सुविधा पाउने व्यवस्था गरेको छ।
फाइल तस्विर: अनशन तोड्दै अस्थायी शिक्षक
असार २३ गते तय भएको परीक्षाका लागि २६ हजार १५१ अस्थायी शिक्षकमध्ये १५ हजार ६९० ले आन्तरिक प्रतिस्पर्धामा जाने इच्छा देखाएका थिए। आन्तरिकतर्फ १९ हजार २६५ को कोटा थियो। तर, असफलताको डरले कोटाभन्दा पनि कम प्रतिस्पर्धी भएका थिए।
असारमा तय भएको परीक्षा शिक्षककै आन्दोलनका कारण दुई पटक रोकिएको थियो। भदौ ३ र १० गतेको परीक्षा पनि रोकिएको थियो।
शिक्षा ऐन नवौँ संशोधनले आन्तरिकतर्फ आन्तरिक ६० प्रतिशत र खुलामा ४० प्रतिशत कोटा निर्धारण गरेको छ।
२०४९ पुस २० गतेदेखि २०७३ असार १५ गतेसम्म अस्थायी नियुक्ति पाएका शिक्षक परीक्षामा सामेल हुन पाउनेछन्। लिखित परीक्षाका कार्यक्रम पूर्ववत तोकिएअनुसार हुनेछ। परीक्षामा सामेल भई फेल भएका शिक्षकले पनि आर्थिक सुविधा पाउँनेछन्।