PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

डोल्पाको चुनावी भिडन्त : कांग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा



पहिलोपोस्ट

डोल्पाको चुनावी भिडन्त : कांग्रेस र वाम गठबन्धनको प्रतिस्पर्धा

  • रामचन्द्र न्यौपाने

दुनै: दुर्गम जिल्ला डोल्पामा आसन्न संघ र प्रदेशको निर्वाचनका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका साना तथा ठूला दलका उम्मेदवार प्रतिष्पर्धात्मक हिसाबमा प्रचारप्रचारमा जुटेका हुन् ।

 

के गर्दैछ एमाले?

आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि अहोरात्र खटिएका छन्। गठबन्धनको तर्फबाट प्रदेश क्षेत्र नं १ बाट उम्मेदवार बनेका एमालेका नन्दसिंह बुढा आफ्नै क्षेत्रमा प्रचारप्रचारमा सक्रिय छन्। पहिलो पटक सांसदको टिकट पाएका बुढा एमाले जिल्ला कमिटी सचिव समेत हुन्।

बुढाले अहिले आफ्ना कार्यकर्तासहित उपल्लो डोल्पामा भोट माग्दै घरदैलो गरिरहेका छन्। उनकै क्षेत्रमा पर्ने दुनै, जुफाल, रह, तिप्लालगायतका गाउँमा समेत घरदैलो अभियान तीव्र पारिएको डोल्पा एमालेले जनाएको छ।

प्रदेश नं क्षेत्र नं १ मा पर्ने उपल्लो डोल्पा एमालेको प्रभाव क्षेत्रका रुपमा रहेकाले पनि उक्त क्षेत्रबाट एमाले जित सुनिश्चित रहेको डोल्पा एमालेको दाबी छ।

उक्त क्षेत्रको उपल्लो डोल्पामा पर्ने छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र ठूलीभेरी नगरपालिकामा एमालेकै जनमत धेरै रहेकाले यस क्षेत्रबाट जित सुनिश्चित रहेको वाम गठबन्धनबाट एमालेबाट उम्मेदवार बनेका नन्दसिंह बुढाले दाबी गरे।

प्रचारका क्रममा डोल्पाली जनताको घरदैलोमा पुग्दा जनताले एमालेबाहेक अरु कसैलाई नचिन्ने भएकाले यसपटक गठबन्धनका तीनैजना उम्मेदवारको जित सुनिश्चित भएको उनको भनाइ छ।

उक्त क्षेत्रमा काँग्रेस पनि बलियो प्रतिष्पर्धीको रुपमा रहेको छ, उक्त क्षेत्रबाटै उम्मेदवार बनेका बेगमसिंह ठकुरी पनि कार्यकर्तासहित चुनावी प्रचारप्रचारमा उपल्लो डोल्पातिरै छन्।

स्थानीय चुनावमा ठूलीभेरी नगरपालिकाको प्रमुख पदमा थोरै मतले हार व्यहोरेको काँग्रेस यस कारण पनि बलियो प्रतिपक्षको रुपमा रहेको हो। काँग्रेसबाट प्रदेशमा उठेका ठकुरी पनि नयाँ अनुहार नै छन्।

ठकुरीलाई जिताउन काँग्रेस जिल्ला पार्टी सभापतिसहित सयौँ कार्यकर्ता चुनावी प्रचारप्रचारमा होमिएका छन्। त्यस्तै, गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका पूर्व सांसद् धनबहादुर बुढा तीव्ररुपमा चुनावी प्रचारप्रचारमा जुट्नु भएको छ।

प्रतिनिधिसभा उम्मेदवार बनेका बुढाले आसन्न निर्वाचनका लागि दशैँअगावै पहिलो चरणको प्रचारप्रचार गरिसकेको एमालेको भनाइ छ। अहिले दोस्रो चरणको प्रचारप्रचारमा एमाले जुटेको हो।

दोस्रो संविधानसभा चुनावमा डोल्पाबाट माओवादी केन्द्र र काँग्रेसलाई हराउँदै भारी मतले विजयी भएका बुढा अहिले तल्लो डोल्पामा मत माग्दै जनताको घरदैलोमा छन्।

प्रतिनिधिसभाका उम्मेदवार बुढा धन, मन, असल स्वभावका धनी नेताका रुपमा जिल्लामा परिचित हुनुहुन्छ। डोल्पाबाट एक पटक सांसद भइसकेका बुढा यसपटक पनि भारी मतले विजयी हुने एमालेको दाबी छ।

यसै पनि डोल्पामा पहिलो पार्टीका रुपमा रहेको एमाले माओवादी केन्द्रको समेत साथ पाउने भएपछि ढुक्क भएर चुनावी प्रचारप्रचारमा जुटेको छ।


के गर्दैछ कांग्रेस?

डोल्पामा आन्तरिक विवादमा फस्दै आएको डोल्पा काँग्रेस आसन्न चुनावका लागि भने एकजुट भएर चुनावी प्रचारप्रचार कार्यलाई तीव्र पारेको छ।

कांग्रेसबाट प्रतिनिधिसभामा अंगतकुमार बुढा र प्रदेश क्षेत्र नं १ का बेगमसिंह ठकुरी चुनावी प्रचारप्रचारको क्रममा उपल्लो डोल्पामा पुग्नुभएको छ ।

काँग्रेसबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएका बुढाले डोल्पालाई विकास, सुशासनको बाटोतर्फ डोर्‍याउनका लागि अमूल्य मत दिई सहयोग गर्न डोल्पालीलाई आग्रह गरेका छन्। 

जिल्ला पार्टी सभापतिसमेत रहनुभएका प्रतिनिधि सभाका उम्मेदवार बुढा विकासवादी, भ्रष्टाचारमुक्त समाज निर्माणमा अभियन्ताको रुपमा डोल्पामा परिचित छन्।

एमालेका धनबहादुर बुढा र काँग्रेसका अंगतकुमार बुढा काइके गाउँपालिकाअन्तर्गत एउटै गाउँका भएपनि राजनीतिक हिसाबमा भने वर्षौंदेखि प्रतिस्पर्धा कायमै छ।

त्यस्तै, प्रदेश क्षेत्र नं २ मा उठ्नुभएका काँग्रेसका उम्मेदवार सुरेश शाही नौलो अनुहार होइन। दोस्रो संविधान सभाको चुनावमा काँग्रेसबाट प्रत्यक्ष उम्मेदवार बनेका शाही एमालेसँग पराजित भएका थिए।

यसपटक शाही धुमधामका साथ चुनावी प्रचारप्रचारमा जुटेका छन्। यसपटक क्षेत्र नं २ बाट काँग्रेसको जित सुनिश्चत भन्दै स्थानीय नेता कार्यकर्ता भोट मागिरहेका छन्।

उक्त क्षेत्रबाट गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर शाही छन्। तर संकटकालमा माओवादीले जनतालाई दुःख दिनेदेखि आस्थाका धरोहर मन्दिरसमेत तोडफोड गरेकाले कतिपय क्षेत्रका जनताले यसकै आधारमा भोट नदिने काँग्रेसको दाबी छ।

प्रदेश क्षेत्र नं २ मा स्थानीय चुनावमा र आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै गर्दा पटकपटक माओवादी केन्द्र र एमालेका स्थानीय कार्यकर्ताबीच हुने गरेको विवादका कारण पनि काँग्रेसलाई फाइदा हुने नेपाली काँग्रेस डोल्पाका सचिव जयनन्द उपाध्यायले दाबी गरे।

स्थानीय चुनावमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदमा झिनो मतले पराजय भोग्नु भएका दिलबहादुर विष्ट काँग्रेसलाई भोट माग्दै तल्लो डोल्पामा घरदैलो अभियानमा जुटेका छन्।

डोल्पामा उदारवादी नेताको रुपमा परिचित विष्ट, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायसहितको टोली शाहीको पक्षमा मत माग्न तल्लो डोल्पामा प्रचारप्रचारमा खटाइएको काँग्रेसले जनाएको छ।

त्यस्तै, संघ र प्रदेशमा उठेका साना दलहरु नयाँ शक्ति पार्टीका पुष्प बुढा, नेकपा ९माले०का हर्कबहादुर रोकायलगायतका विभिन्न पार्टीका उम्मेदवार पनि चुनावी प्रचारप्रचारमा अभियानमा जुटेका छन्।

नेता कार्यकर्ता सबै गाउँघरतिर चुनावी प्रचारप्रचारमा जुटेपछि सदरमुकाम दुनै, त्रिपुराकोट, जुफाललगायतका स्थानीय बजार सुनसान भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell