PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

म्याग्दीको चुनावी भिडन्त: विरासत जाेगाउने रणनीतिमा वाम गठबन्धन



नरहरि पौड्याल

म्याग्दीको चुनावी भिडन्त: विरासत जाेगाउने रणनीतिमा वाम गठबन्धन

कास्की : प्रदेश नम्बर ४ अन्तर्गत म्याग्दीमा चुनावी मिति नजिकिदै गर्दा चुनावी माहोल बढेको छ। पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उमेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सानो जिल्ला भए पनि बेलाबखत राष्ट्रिय राजनितिमा छुट्टै पहिचाहन बनाउन सफल भएको जिल्लामा म्याग्दीलाई हेरिन्छ।

राष्ट्रिय राजनितिमा पकड जमाएका स्वर्गीय नारायण सिंह पुन र भिमप्रसाद गौचनका कारण केन्द्रमा जिल्ला परिचित छ। पुन प्रजातान्त्रिक कार्यकालमा मन्त्री बनेर चर्चा पाएका थिए भने गौचन पञ्चायतमा राज्यमन्त्री बनेर चर्चा कमाएका थिए।

०४८ साल यताका निर्वाचनमा धेरै पटक जिल्लामा वाम वर्चश्व कायम हुँदै आएको छ। अहिले पनि जिल्लामा प्रतिनिधिसभा र स्थानीय निर्वाचनको मत जोड्दा वाम गठबन्धनको मतान्तर ठूलो छ।

एउटा क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एमालेका भुपेन्द्रबहादुर थापा उमेदवार छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस खम्बीर गर्बुजा रहेका छन्। प्रतिनिधिसभाका लागि थापा र गर्बुजाबीच मुख्य प्रतिस्पर्धा हुनेछ। वाम गठबन्धनको तर्फबाट केन्द्रीय सदस्य थापा जिविसको पूर्व उपसभापति हुन्।

प्रजातान्त्रिक गठबन्धनको तर्फबाट उमेदवार बनेका गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति हुन्। उनी २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग तीन हजार ४४६ मत अन्तरले पराजित भएका थिए।

थापा राष्ट्रिय राजनीतिमा पुग्न सफल जिल्लाका सीमित नेतामा पर्छन भने गर्बुजा बेलायती सैनिकबाट अवकाश पाएर राजनीतिमा सक्रिय छन्।

प्रदेशसभाको क्षेत्र नम्बर ‘क’ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन चुनावी मैदानमा छन्।

प्रदेशसभाको क्षेत्र नम्बर ‘ख’ मा वाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र प्रजातान्त्रिक गठबन्धनबाट कांग्रेसका अमलाल फगामी चुनावी मैदानमा उत्रिएका छन्। वाम गठबन्धनका उमेदवार एमालेकी पुन निवर्तमान सांसद् र पूर्व पशुपंक्षी विकास राज्यमन्त्री हुन्।

कांग्रेसका उमेदवार अमलाल फगामी भारतीय गोर्खा सैनिकको सेवा निवृतपछि राजनीतिमा क्रियाशील रहँदै आएका छन।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ।

स्थानीय तह निर्वाचनमा ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा आसन्न निर्वाचनका लागि चार हजार ७५ मतदाता थपिएर जिल्लामा ७५ हजार ५ सय ३८ मतदाता पुगेको छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell