PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जाडो महिनामा पनि किन फैलियो डेंगु? यस्तो छ बच्ने उपाय



सागर बुढाथोकी

जाडो महिनामा पनि किन फैलियो डेंगु? यस्तो छ बच्ने उपाय
फोटो : https://www.newsradio.lk/

काठमाडौँ : देशभर यो वर्ष १ हजार ४६६ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी रोग महाशाखाको निर्देशक डा. भिम आचार्यका अनुसार झापामा ५३८, महोतरीमा ४३८, पोखरा १५८, सर्लाही १३०, धादिङमा ६७ र अन्य जिल्लाहरुमा समेत डेंगु फैलिएको छ।

गत वर्ष १ हजार ५२९ जनामा डेंगु देखिएको थियो भने २ जना डेंगुको कारणले मरेका थिए। यो वर्ष डेंगुको कारणले मानिसहरु मरेको पुष्टी नभएपनि संख्या बढ्न सक्ने आचार्य सुनाउँछन्।

देशभरी डेंगुको प्रकोप फैलिएपछि अहिले विभिन्न जिल्लामा त्रास फैलिएको छ। डेंगु नियन्त्रण गर्न सरकारले नै डेंगु प्रभावित क्षेत्रमा रोकथमाको कार्यक्रम सञ्चालन आएको छ।

 

‘जाडो महिनामा पनि किन डेंगुको संक्रमण?’

डेंगुलाई विशेषगरि गर्मी महिनामा फैलने रोग भनेर चिनिन्छ। मध्य जाडो सुरु भइसक्दा डेंगुको संक्रमण फैलनुले त्रास समेत बढेको छ।

निर्देशक आचार्य यसपालीको मनसुन धेरै ढिलो सकिएकाले जाडो महिनामा डेंगु फैलिएको सुनाउँछन्। विभिन्न पानी जमेको ठाउँमा लामखुट्टेले ढिलोसम्म प्रजनन गरेकाले जाडो सुरु भइसक्दा डेंगु फैलिएको उनको भनाई छ।

‘डेंगु फैलाउने लामखुट्टे पानी जमेको खाल्डोमा अण्डा पारेर एक महिनाभित्र तीन सयभन्दा बढी डेंगु फैलाउने लामखुट्टे जन्माउँछ। त्यो एउटा लामखुट्टे अघाउन ५ जनालाई टोक्नुपर्छ।’ आचार्य भन्छन्, ‘एउटा लामखुट्टेले पानी जमेको ठाउँमा फुल पारेपछि त्यो फुल एक महिनाभित्र एडल्ड भएर डेंगु सारिसक्छ। अबको एकसातापछि डेंगुको प्रकोप हटिसक्छ।’

अहिले देशभर फेलिएको डेंगुलाई महामारी भन्न नमिल्ने आचार्य बताउछन्। केही शहरी उन्मुख क्षेत्रमा मात्र फैलिएकाले यसलाई महामारी भन्न नमिल्ने उनको तर्क छ। ९८ प्रतिशत मानिसमा डेंगुले केही असर नगर्ने भएपनि २ प्रतिशत मानिसहरुमा यसले असर देखाएकाले यसबाट सचेत हुनुपर्ने आचार्य सुनाउँछन्।

 

कस्तो रोग हो डेंगु ?

आचार्यका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले स–साना सफा पानी जमेको स्थानमा फुल पार्छ। पानी जम्ने टीनका डब्बाहरू लगायत वर्षातको पानी जम्ने जुनसुकै वस्तुमा लामखुट्टेले फुल पार्छ। त्यही फुलबाट नै डेंगु सार्ने लामखुट्टे व्यापक रुपमा फैलन्छ।

विशेषगरि तराई क्षेत्रमा राखिएका टायरमा जमेको पानीमा लामखुट्टेले फुल पारेको कारणले डेंगु फैलिएको आचार्यले बताए। तराइका शहरी उन्मुख क्षेत्रमा खाली टायर धेरै राख्ने भएकाले त्यहीबाट धेरै भन्दा धेरै डेंगु फैलाउने लामखुट्टे सर्छ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण भएको आचार्य बताउँछन्। डेंगुको भाइरस चार किसिमको हुन्छ। मानिसलाई खतरा कति छ भन्नको लागि कुन डेंगु लागेको पत्ता लगाउनुपर्ने आचार्यको भनाई छ।

डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत छैन्। त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु यो रोगको मुख्य उपचार हो। शरिर दुख्ने, हाड जोर्नीहरु दुख्ने र आँखा समेत दुख्न थाल्यो भने नजिकैको स्वास्थ्य संस्था जानुपर्ने आचार्य बताउँछन्।

 

डेंगु भएको कसरी पत्ता लगाउने ?

आचार्यको अनुसार रगत जाँच गर्दा चार हजार प्रति क्युविक लिटर भन्दा कम स्वेत रक्तकोशिका देखियो र प्लेट लेट १ लाख प्रति क्युविक लिटर भन्दा कम देखियो भने डेंगु हुने सम्भावना हुन्छ। 

एक्कासी ५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने लक्षण पनि डेंगुकै भएको आचार्य सुनाउँछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोश हुने आदि डेंगुका लक्षणहरु हुन्।

 

यसरी बच्न सकिन्छ डेंगुबाट

डेंगु भाइरस सार्ने लामखुट्टे अरुभन्दा फरक र शहरिया लामखुट्टे भएको आचार्य बताउछन्। जंगल र पातलो बस्तीमा यस्तो लामखुट्टे नलाग्ने उनको तर्क छ।

‘डेंगु सार्ने लामखुट्टेले राती सुतेको बेलामा टोक्दैन्। दिउँसै टोक्ने हो। र यसले एकजनलाई टोकेर अघाउँदैन्।’ आचार्यले भने, ‘यसबाट बच्न लामखुट्टे जन्मने ठाउँ र पानीहरु जम्ने खाल्डाहरु मास्नुपर्छ।’

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्ने आचार्य बताउँछन्। साथै साना केटाकेटिलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्ने उनको तर्क छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell