PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भावी प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेलको प्रचार, भन्छन्- 'मैले धेरै कुरा सहेर बसेकोले पार्टी एक छ'



नेत्र तामाङ

भावी प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेलको प्रचार, भन्छन्- 'मैले धेरै कुरा सहेर बसेकोले पार्टी एक छ'

काठमाडौँ : मतदानको दिन नजिकिँदासमेत न एमाले र माओवादीको वाम गठबन्धनले भाबी प्रधानमन्त्रीको घोषणा गर्न सकेको छ, न कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले। 

बीबीसी नेपालीसँगको बुधबारको अन्तर्वार्तामा पौडेल प्यानलबाटै पछिल्लो महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शशांक कोइरालाले 'रामचन्द्र दाइ एक चोटी पनि प्रधानमन्त्री हुनुभा छैन' भन्दै भाबी प्रधानमन्त्री उनी हुनुपर्ने धारणा खुलेरै व्यक्त गरे। 

यति बेला नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँमा चुनावी अभियानमा छन्। त्यहाँ हुने चुनावी सभाहरुमा भने उनकै उपस्थितिमा भाबी प्रधानमन्त्रीमा प्रचार गर्ने गरिएको छ। फेसबुकमा भाबी प्रधानमन्त्री रामचन्द्र पौडेल नामको पेज पनि छ।   

हालै आँबुखैरिनी गाउँपालिकामा चुनाव प्रचार कार्यालयको उद्‍घाटन गर्ने क्रममा वक्ताहरुले पौडेललाई भाबी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे। यद्यपि पौडेल स्वयं भने त्यस विषयमा मौन नै रहे। 

आँबुखैरिनी गाउँपालिकाबाट डुम्रेमा हुन लागेको अर्को सभामा जाने क्रममा गाडीभित्र बसेका पौडेललाई हामीले भावी प्रधानमन्त्रीका विषयमा सोध्दा उनले भने, 'पार्टीभित्र धेरै कुरा सहेर रहेर पनि हामीले पार्टीलाई एक राखेका छौँ। मैले धेरै कुराहरु सहेर नेपाली कांग्रेस एक छ र एक भएर चुनावमा आएको छ। अरु पार्टीहरुलाई पनि साथ लिएर आएको छ।'

भिडियो हेर्नुस्-

नेपाली कांग्रेसले उनलाई त्यस्तो बेला प्रधानमन्त्रीको उम्मेदवार बनाएको थियो, जतिबेला निर्वाचित हुने सम्भावनै थिएन। पहिलो संविधानसभामा माधव नेपालले राजीनामा दिएपछि राष्ट्रिय सहमतिको नाममा एमाले तटस्थ बस्दा आवश्यक बहुमत संख्या कसैले ल्याउन सक्ने स्थिति थिएन। त्यसैले पौडेलको नाम १७ पटक प्रधानमन्त्रीमा हारेको व्यक्तिका रुपमा चर्चमा ल्याउने गरिन्छ।  
 
के यस पटक तपाईँ भावी प्रधानमन्त्रीको उम्मेदवार हो त?

हाम्रो प्रश्नको उनले सीधा जवाफ दिएनन्। भने, 'यसपालि नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गरेर समृद्धिको अभियानलाई अघि बढाउनु पर्छ। कांग्रेसको नेतृत्वमा सरकार बन्छ। हामी समृद्धिको अभियानलाई अघि बढाउँछौँ। सफल पार्छौँ।'

त्यो सम्भव छ त? समग्र देशमा कांग्रेसको अवस्था कस्तो होला चुनावमा ?

उनले जवाफ दिए, ' नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ।' 

यसको आधार के त ?

'नेपाली जनताले लोकतन्त्रको पक्षमा मतदान गर्छन्, कांग्रेस पहिलो पार्टी बन्छ।' 

उनले थप व्याख्या गरे, 'लोकतन्त्रमा विश्वास गर्ने सबैको मत अब एकै ठाउँमा केन्द्रित हुन्छ। सबै जनता लोकतन्त्रकै पक्षमा छन्। लोकतन्त्रको विरुद्धमा नेपाली जनमत छैन। कम्युनिज्मको पक्षमा नेपाली जनता छैन। कम्युनिज्मको पक्षमा  जनताको मत जाँदैन। बहुमत जनता लोकतन्त्रको पक्षमा जहिले पनि छ।' 

तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरिरहेका पौडेल आफ्नो विजयप्रति विश्वस्त छन्। भन्छन्, 'आज मात्रै हैन पञ्चायतकालको अवस्थामा पनि पञ्चायतको विरोध गर्दागर्दै पनि गाउँको विकास गर्ने काममा सडक खन्ने, बाटो बनाउने काममा लाग्ने मान्छे म। त्यसो भएको हुनाले यहाँको जनतासँग मेरो ज्यादै नजिकको सम्बन्ध छ र जनताले मलाई जनताको माया गर्ने नेता भनेर भन्छन्। त्यसैले चुनावको अवस्था त्यति कठिन म देख्दिनँ। जनतालाई फेरि सम्झाउनु पर्छ, गइदिनुपर्छ, देखिइदिनुपर्छ। उहाँहरुले मलाई देख्न पाउनु पर्छ त्यति भएपछि जनताको मत आउँछ।' 

तर स्थिति त्यति सहज भने थिएन। पार्टीले पौडेललाई टिकट दिनुअघि नै गोविन्दराज जोशीको पक्षमा र्‍याली र जुलुस निस्किए। जोशीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारीसमेत दर्ता गरे जसलाई रद्द गराउन उनी आफैले निर्वाचन आयोगमा उजुरी दिनुपर्‍यो। 

तर उनी उसलाई 'साथीहरुको प्रयास' का रुपमा मात्र लिँदै भन्छन्- 'यसलाई म केही उल्लेख्य मान्दिनँ।'

उनले उल्लेख्य नमाने पनि सर्वोच्च अदालतले अन्तिम फैसला गर्न बाँकी रहेको गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाकै कारण दिएर निर्वाचन आयोगले उम्मेदवारी रद्द नगरिदिएको भए ठूलै चुनौति भोग्नुपर्ने निश्चित थियो। किन त पार्टीको आधिकारिक उम्मेदवारप्रति यो असन्तुष्टि? 

'मप्रतिको असन्तुष्टि भन्दा आफ्नै आकांक्षाको प्रतिबिम्ब हो। मान्छेको आआफ्नो महत्त्वाकांक्षा हुन्छन् नि- मलाई पनि चाहियो मलाई पनि चाहियो भन्ने। जसले पनि कोशिश त गर्छ नि,' उनले भने।  

पौडेलले थप प्रष्टयाए, 'तर तपाईँले आज देख्नुभयो नि हिजो र्‍याली गर्न गएका कार्यकर्ता नै आजको सभामा वक्ता हुनुहुन्थ्यो।'  

एकातर्फ आफ्नैबाट चुनौति अर्कोतर्फ विपक्षीहरु वाम गठबन्धन गरेर मैदानमा। त्यति सहज छ त प्रतिस्पर्धा?

'यो वाम गठबन्धन, एकता जो भन्नुभो नि त्यो त हामीले सँधै भोग्या हो', अगाडिको सिटमा बसेका पौडेल पछाडि हामीतिर फर्कँदै हाँस्दै जवाफ फर्काउँछन्, 'कांग्रेस एक्लै लड्या हो चुनाव जहिले पनि। कांग्रेसका विरुद्ध सबै एक हुन्थे। यहाँ तनहुँमा त हामीले जहिले पनि त्यही व्यहोरिरहेका छौँ। त्यो स्थिति हामीले पार गरिसकेका छौँ।'

उनले थपे, 'हाम्रो चुनावी अभियान जति अघि बढ्छ त्यति नै त्यो गठबन्धन फिका बन्दै जान्छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell