चितवन : जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरको पुनःनिर्माणका लागि सम्झौता भएको छ।
गुनासो व्यवस्थापनसम्बन्धी आयोजना गरिएको अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ।
जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए। यहाँ रहेका भूकम्प प्रभावितमध्ये पाँच सय ९३ जनाले मर्मतका लागि निवेदन दिएको उनले बताए।
जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि पाँच सय जनाको निवेदन परेको छ। प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताए। चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ।
सरकारले जारी गरेको निर्देशिकाअनुसार कात्तिक मसान्तसम्म सम्झौता गर्नुपर्ने हुन्छ। योसँगै चालू आवभित्र घर निर्माणको काम पनि सक्नु पर्ने हुन्छ। सो कार्यक्रममा प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदीले आधार र प्रमाण बिना कसैले पनि गुनासो गर्न नपाइने बताए। गुनासो सुनुवाइ एकाइ वडा तहमा नै रहेकाले वडा स्तरबाटै गुनासोको समाधान गर्न सके प्रभावकारी हुने जानकारी दिए। प्राधिकरणमा बढी मात्रामा भूकम्प पीडितको गुनासो सम्बन्धित जिल्लामा घर नबनाई अन्यत्र जिल्लामा घर बनाउन पाउने÷नपाउने र न्यून ब्याजमा रकम निकासीको मात्रै आउने गरेको उनले उल्लेख गरे। रासस