.jpg)
पोखरा : नेपालकै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल प्रदेश नम्बर ४ अन्तर्गतको स्याङजामा चुनावी सगर्मी तिव्र बनेको छ।
देशको प्रशासनिक निकायका उच्च स्थानहरुमा आसिन प्रशासकहरु र कांग्रेसको केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको गृह जिल्लाको रुपमा सधै चर्चामा रहने स्याङजा चुनावको मिति नजिकीएसँगै चुनावी सरगर्मी बढेको छ। दुवै गठबन्धनका उमेदवारबीच विरासत जोगाउने र भत्काउने मौकाको रुपमा यस चुनावलार्इ लिएको छ।
प्रतिनिधि सभा निर्वाचनको लागि दुई वटा क्षेत्र रहेको स्याङजामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र निवर्तमान सांसद राजु थापा चुनावी मैदानमा उत्रिएका छन।
क्षेत्र नम्वर एकबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका निवर्तमान सांसद राजु थापा र वाम गठबन्धनको तर्फबाट नारायण मरासिनीलाई चुनवी मैदानमा उत्रिएका छन्। क्षेत्र नम्बर दुईबाट लगातार ४ पटक सांसद बनेका कांग्रेसका केन्द्रय उपसभापति एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धनका तर्फबाट पूर्वसांसद एवं एमालेकी नेतृ पद्यमा आर्यालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसका हेवीवेट उमेदवारमा हेरिएको गोपालमान श्रेष्ठलाई महिला नेतृ अर्यालले कडा टक्कर दिएकी छन। जिल्लाबाट ४ पटक सांसद बनेर मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुँदासमेत जिल्लाको विकास निर्माणमा उल्लेख्य काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ।
उपप्रधानमन्त्री श्रेष्ठ जिल्लामा कांग्रेसका शक्तिशाली उम्मेदवार मानिन्छन। उनी आफू क्षेत्र नम्बर एकका बासिन्दा भए पनि सधै कांग्रेसको गढ मानिने क्षेत्र नम्बर दुर्इबाट उम्मेदवार बन्दै आएका छन। उनको घर र मतदान गर्ने स्थान क्षेत्र नम्बर एकमा पर्छ।
क्षेत्र नम्बर एकमा तीन वटा संसदीय चुनाव एमालेले जितेको छ भने गत संविधान सभा निर्वाचनमा कांग्रेसका सांसद राजु थापा विजयी भएका थिए। जिल्लाको क्षेत्र नम्बर दुईमा सधै कांग्रेसका एक्ला उम्मेदवार श्रेष्ठका पार्टी नेता कार्यकर्तासमेत सन्तुष्ट देखिदैन।
०४८ मा कायम रहेका ४ वटै निर्वाचन क्षेत्रबाट पार्टीलाई एकछत्र चुनाव जिताएर आफ्नो रबाफलाई केन्द्रसम्म फैलाएका श्रेष्ठले लगातार चौथो पटकसम्म सांसद बन्ने राजनैतिक बिरासतलाई कायम राख्न एमाले नेतृ अर्यालसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ।
स्थानीय निर्वाचनको मतको परिणालाई आधार मान्ने हो भने श्रेष्ठले आफ्नो बिरासत जोगाउन कडा मिहिनेत गर्नु पर्ने देखिन्छ। नेतृ अर्याल स्थानीय स्तरमै रहेर निरन्तर राजनितिमा सक्रिय रहदै आएकी छन। उनी वाम गठबन्धनकी लोकप्रिय उम्मेदवार हुन।
त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर १ प्रतिनिधि सभाको लागि कांग्रेसको तर्फबाट निवर्तमान सांसद राजु थापा र एमालेबाट नारायण मरासिनी चुनावी मैदानमा उत्रिएका छन। उनीहरु दुवै गत संविधान सभाको निर्वाचनमा चुनाव लडेका थिए। मारासिनीलाई थापाले झिनो मतले पराजित गरेका थिए। तर, त्यतिबेला माओवादी केन्द्रका लोकप्रिय युवानेता शैलेन्द्र घिमिरे पनि चुनावी मैदानमा थिए। उनले करिब ८ हजार मत ल्याएका थिए।
क्षेत्र नम्बर एकका उमेदवार राजु थापा ठेक्कापट्टा र निर्माण व्यवसाय हुँदै राजनीतिमा आएका हुन भने मरासिनी स्कूल सञ्चालक हुन। मरासिनी बौद्धिक र क्षमतावान नेतामा चिनिन्छन्। क्षेत्र नम्बर एकमा पनि स्थानीय निकाय र वाम गठबन्धनको मत अन्तर ठूलो छ।
समग्र जिल्लामा स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मतको तुलना गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन अगाडि देखिएको छ। लोकतन्त्रवादी मतदाताको हाबी रहेको दाबी गरिएको स्याङ्जामा स्थानीय निकायको मत परिणमलाई हेर्दा वाम गठबन्धन र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मत परिणाम हेर्दा कांग्रेसको २५ हजार ५ सय ३६ मत रहेको छ। त्यसैगरी एमालेले ३१ हजार ७ सय १५ मतमा माओवादीले प्राप्त गरेको ४ हजार ६६ मत जोड्दा कांग्रेसभन्दा ९ हजार २ सय ४५ मत अगाडि देखिन्छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा स्थानीय तहमा कांग्रेसले २८ हजार ४ सय ९ मत प्राप्त गरेको थियो। त्यसैगरी एमालेले २८ हजार ३ सय ३६ मत र माओवादीले प्राप्त गरेको ४ हजार १८ मत हेर्दा वाम गठबन्धन ३ हजार ९ सय ४५ मतले अगाडि रहेको छ।
जिल्लामा चुनावी सरगर्मी र जोड्घटाउ चलिरहेको बेला स्याङ्जा कांग्रेसका महासमिति सदस्य दीपक लम्साल नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन। ३० वर्ष नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लम्सालले पार्टीले एक पक्षलाई मात्र टिकट वितरण गरेको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन।
लम्साल स्थानीय तहको निर्वाचनमा पनि छवि विग्रेका भ्रष्टचरित्र भएका अलोकप्रिय उम्मेदवारका कारण कांग्रेसले पराजय भोग्नु परेको आरोप लगाएका छन।
त्यसैगरी नेपाली कांग्रेस पुतलीबजार नगर प्रमुख बेदप्रसाद दोरङ्गाले पनि राजनितिबाट सन्यास लिने भन्दै राजिनामा दिएका छन।