PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आरजु देउवाको प्रतिस्पर्धामा जेलमा रहेका लक्ष्मण थारु, भूमिगत रेशम चौधरी पनि चुनावी मैदानमा



बीपी साह

आरजु देउवाको प्रतिस्पर्धामा जेलमा रहेका लक्ष्मण थारु, भूमिगत रेशम चौधरी पनि चुनावी मैदानमा

काठमाडौं : मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका दुईजना आरोपीहरु चुनावी मैदानमा छन्। घटनाका मुख्य आरोपी भनिएका रेशम चौधरी कैलालीको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर एकबाट र अर्का आरोपी लक्ष्मण थारु कैलालीकै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर पाँचबाट उम्मेदवार छन्।

लक्ष्मण थारु टीकापुर घटना हुँदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए। उनी हाल धनगढीको जेलमा रहेकै अवस्थामा प्रतिनिधि सभाको निर्वाचन अघि राजपामा प्रवेश गरेका हुन्।
 
राजपाका नेता राजेन्द्र महतोले जेल मै गएर थारुलाई पार्टी प्रवेश गराएका थिए। थरुहट आन्दोलनमा सक्रिय थारुको पकड पनि उक्त क्षेत्रमा रहेको छ। तर उनको चुनावी प्रतिस्पर्धा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवासँग परेको छ। थारु बाहुल्य क्षेत्रमा थारुहरुको सहभानुभूति लक्ष्मण थारुले पाउने प्रयास गरिरहेका छन्। 
 
यो क्षेत्रमा वाम गठबन्धनले नारदमुनि रानालाई उम्मेदवार बनाएको छ। लक्ष्मण थारु आफ्नो प्रतिस्पर्धा आर्जुसँग रहेको दाबी गर्छन् । उनी जेलबाटै चुनावी प्रचारप्रसारमा लागेका छन् ।

राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीका सचिव रहेका रेशम चौधरी पार्टी एकीकरणपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पनि सचिव हुन्।  टीकापुर घटना हुँदा उनी सहसचिव थिए। टीकापुर घटना पछि भूमिगत रहेकै अवस्थामा उनी राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन्।
 
चौधरी सामाजिक सञ्जालमार्फत चुनावी प्रचारप्रसारमा जुटेका छन्। उनका बुबा पनि राजनीतिमा सक्रिय रहेकोले थारुहरुको मत आकर्षित गर्ने प्रयासमा उनी लागेका छन्। टीकापुर घटनामा मुछिएकाले पनि चौधरीप्रति स्थानीय थारु समुदायको सहभानुभूति रहेको छ।

सञ्चारकर्मी रहेका चौधरी पछिल्लो समय व्यापार तथा राजनीतिमा सक्रिय भएर सञ्चार उद्यमी पनि हुन्।

प्रतिनिधि सभाको निर्वाचनमा चौधरीको प्रतिस्पर्धा नेकपा एमालेकी मदनकुमारी शाही र संघीय समाजवादी फोरम नेपालका भगत राम थारुसँग पर्ने देखिन्छ। यसअघि दोस्रो संविधानसभामा उक्त क्षेत्रबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रिक विजय भएको थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell