
काठमाडौं : टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ नेपाली महिला खेलाडी बिहीबार क्यानाडाको टोरोन्टो प्रस्थान गरेका छन्।
मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६७ केजीमुनि ज्ञानी चुनारा, ४९ केजीमुनि रेजिना कार्की र ५७ केजीमुनि यानकुमारी चौलागाईंले प्रतिस्पर्धा गर्नेछन्। तीनै खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्।
तीनैले १२ औं सागमा रजत जितेका थिए भने यानले ११औं सागमा कांस्य पनि जितेकी थिइन्। आठौं सागका स्वर्ण विजेता राजकुमार राईले उनीहरुको प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन्। राई क्यानाडामै छन्।
टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं तेक्वान्दो प्रमुख प्रशिक्षक नन्दु राई, सागका कीर्तिमानी स्वर्णधारी एवं तेक्वान्दो संघका सचिव दीपक विष्टले बिहीबारै बिदाइ गरे।