PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

राष्ट्रिय कराते प्रतियोगिता : विभागीय टोलीको वर्चस्व, सेना र प्रहरीलाई ४–४ स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय कराते प्रतियोगिता : विभागीय टोलीको वर्चस्व, सेना र प्रहरीलाई ४–४ स्वर्ण

काठमाडौं : ५०औं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोलीको वर्चस्व रहँदा त्रिभूवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन्। पहिलो दिन ९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपाल एपीएफ क्लबले बाँकी एक स्वर्ण जित्यो।

राखेप च्याम्पियनिपअन्तर्गत सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल कातामा एपीएफबाट भर्खरै आर्मीमा आबद्ध भएका पर्शुराम बाँस्तोलाले स्वर्ण जिते। पर्शुराम पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्। एपीएफका गुबीराम घले दोश्रो तथा मध्यमाञ्चलका यनोज महर्जन र प्रहरीका मन्डकोजी श्रेष्ठ तेश्रो भए। सोही स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो भइन्। पश्चिमाञ्चलकी विमला नेपाली दोश्रो तथा मध्यपश्चिमाञ्चलकी एलिना थापा मगर र मध्यमाञ्चलकी ज्योति गिरी तेश्रो भए।

पुरुष टिम कातामा आर्मी पहिलो, सुदूरपश्चिमाञ्चल दोश्रो तथा एपीएफ र मध्यमाञ्चल तेश्रो बने। उक्त स्पर्धाको महिलामा प्रहरीले स्वर्ण र मध्यमाञ्चलले रजत जिते। एपीएफ र सुदूरपश्चिमाञ्चलले कांस्यमा चित्त बुझाए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ४५ केजीमा आर्मीका आकाश पाल पहिलो भए। फाइनलमा उनले पश्चिमाञ्चलका बलराम अधिकारीलाई पराजित गरे। सुदूरपश्चिमाञ्चलका सागर विक र मध्यपश्चिमाञ्चलका सुरज नेपाली संयुक्त रुपमा तेश्रो भए।

५० केजीमा आर्मीकै मणिकुमार सुनुवारले फाइनलमा प्रहरीका सोनाम लामालाई हराउँदै पहिलो बने। एपीएफका लक्ष्मण तामाङ र पूर्वाञ्चलका विवेक थापा तेश्रो भए।

महिला ५० केजीमा एपीएफकी अनु अधिकारी च्याम्पियन बनिन्। फाइनलमा अनुले पश्चिमाञ्चलकी उर्मिला दर्लामीको चुनौती पन्छाइन्। पूर्वाञ्चलकी प्रीति बस्नेत र प्रहरीकी कोपिला विष्ट तेश्रो स्थानमा रहे।

प्रहरीकी मल्लिका थापा ५५ केजीमा पहिलो बनिन्। फाइनलमा मल्लिकाले एपीएफकी मनीषा चौधरीलाई पराजित गरिन्। पश्चिमाञ्चलकी अन्जली विक र पूर्वाञ्चलकी विद्याकला राई तेश्रो स्थानमा रहे।

प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोली (आर्मी, प्रहरी र एपीएफ) का १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको अन्तिम दिन शुक्रबार १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। यसै प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गराइ विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई तयार गरिने छ।

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरेको प्रतियोगिताको अवसरमा हालै राखेपमा ५८ वर्ष सेवा पूरा गरी अनिवार्य अवकास पाएका करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ र पूर्व सहायक मुख्य प्रशिक्षक अक्बर शाहलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell