PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

वामगठबन्धनलाई चुनौति दिन हिन्दू कार्ड चलाउने कांग्रेस रणनीति?



सूर्य खड्का

  • टिप्पणी -
प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो। 

मूलभूत रुपमा आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा स्वयंद्वारा प्रस्तुत गर्नेगरी महामन्त्री कोइरालाको पछिल्लो धारणा सार्वजनिक भएको छ। यसले १४ औं महाधिवेशनमा पनि सभापतिमा दोहोरिने भित्री इच्छा पालिरहेका भए, वर्तमान सभापति देउवालाई सुरुमा नै झट्का दिएको छ। मंसिर १० र २१ को चुनावपछि कांग्रेस पार्टीको हैसियत सत्तापक्षीय नै कायम रहला कि विपक्षमा, पक्का छैन। तर पार्टीले सत्ता नेतृत्व गर्ने अवसर आएमा नै पनि त्यसका लागि वरिष्ठ नेता पौडेल नै पहिलो दाबेदार भएको धारणा पनि महामन्त्री कोइरालाले अघि सारेको कारण यसको पनि सिधा असर र चुनौति वर्तमान सभापति देउवातिरै सोझिएको छ। 

महामन्त्री डा. शशांक कोइरालाले चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आए शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताइदिएर विपक्षी प्रहारको चेपुवामा परेका सभापतिलाई अरु चिन्ता र पीर थपिदिएका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर पार्टी संस्थापन समूह देउवाविरुद्ध भद्र धावा बोलेका छन्। २०४८ मा अघि सारिएको एक व्यक्ति एक पदको अवधारणा स्मरण गर्दै उनले यो अहिले पनि ठीक हुने बताउँदै चुनाव र महाधिवेशनपछि पार्टी सभापति देउवा विश्रामतिर लाग्नुपर्ने संकेत गरेका छन्। 

यस पृष्ठभूमिमा कांग्रेसभित्रै पनि चुनावपछि सत्ता नेतृत्वको अवसर आएमा प्रधानमन्त्री को बन्ने भन्ने लफडा बढ्ने संकेत गर्छ। २०६६ मा तत्कालीन पहिलो संविधान सभा अन्तर्गतको संसदमा १७ पल्ट चुनाव लडेर पनि प्रधानमन्त्री बन्न नपाएका वरिष्ठ नेता पौडेलका पक्षमा महामन्त्री कोइरालाको खुल्ला समर्थन पौडेललाई नयाँ आशा र ऊर्जा हो। पौडेललाई प्रधानमन्त्री दिएर आफू पार्टी सभापति बन्ने खुल्ला घोषणा महामन्त्री कोइरालाले गरिसकेका छन्। यसले वर्तमान सभापति तथा प्रधानमन्त्री देउवालाई भने बाहिर वाम र भित्र कोइराला खेमाको चुनौति थपिएको देखाएको छ। कांग्रेसले वाम गठबन्धनले ल्याउने साम्यवादी एकाधिकारवादी सत्ताको भूतलाई देखाउँदै मतदातालाई आफूतिर तान्न खोजिरहेका बेला सभापति देउवाले पार्टी संस्थापन भइहन पनि उत्तिकै जोड दिनुपर्ने देखिएको छ। 

उसै पनि असोज १७ मा ठूला वाम दल नेकपा एमाले र माओवादीले चुनावी तालमेलसहित पार्टी एकताको अभियान थालेपछि सबै भन्दा बढी चेपुवामा परेको सत्तारुढ नेपाली कांग्रेस नै हो। र, पार्टीको तथा सरकारको प्रमुख हुनुका नाताले त्यसको ओज बोझ र भार सहनु परेको सभापति देउवाले नै हो। कांग्रेसले वाम गठबन्धनका संभावित चुनावी विजय रोक्न अहिले रामवाणका रुपमा हरेक तुरुप खोजिरहेको छ। सभापति देउवाले वामराज्यमा रुनसमेत नपाइनेदेखि लोकतन्त्र खतरामा पर्नेसम्मका जुन त्रास देखाइरहेका छन्, त्यो उनको विपक्षी वामप्रहारको प्रतिरक्षा हो। तर वाम गठबन्धनसँगको चुनावी श्रेष्ठतामा विजय हुनुपूर्व उनले आन्तरिक पार्टी शक्ति र सत्ताको रक्षामा पनि उत्तिकै सजग हुनुपर्ने चुनौति थपिएको छ। 
वर्तमान सभापति तथा प्रधानमन्त्री देउवालाई भने बाहिर वाम र भित्र कोइराला खेमाको चुनौति थपिएको देखाएको छ। कांग्रेसले वाम गठबन्धनले ल्याउने साम्यवादी एकाधिकारवादी सत्ताको भूतलाई देखाउँदै मतदातालाई आफूतिर तान्न खोजिरहेका बेला सभापति देउवाले पार्टी संस्थापन भइहन पनि उत्तिकै जोड दिनुपर्ने देखिएको छ। 
***

त्यसबाहेक कांग्रेसले हिन्दूत्वको मुद्दामा टेकेर वाम एकताले बटुल्न खोजिरहेको जनमत आफैतिर तान्ने प्रयास पनि थालेको छ। यसका लागि यो चुनावमा नै कांग्रेस हिन्दूत्वको मुद्दामा फर्किसकेको त छैन तर चुनाव लगत्तै उसले हिन्दूत्वकै मुद्दामा वाम एकतालाई चुनौति दिने स्पष्ट पारेको छ। त्यसको पुष्टि शक्तिशाली नेता तथा महामन्त्री शशांक कोइरालाको पछिल्लो रेडियो अन्तर्वार्तामार्फत प्रकट भएको छ। अन्तरवार्तामा महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रले साम्यवाद ल्याउँछु भनेको भन्दै कम्युनिष्टहरुलाई साइजमा ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन्। यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन्।

कांग्रेसले प्रदेश र संसदको चुनाव जितेमा उसले हिन्दू राज्य फर्काउनका लागि जनमत संग्रहको नेतृत्व गर्नेछ भनेर देशैभरका मतदातालाई पुरानै मुद्दामा नयाँ ढंगले तरंगित गर्ने गरी महामन्त्री कोइरालाले हिन्दूत्वबारे पुनः बोलेका हुन्। पहिल्यैदेखि हिन्दूत्वको मुद्दामा पक्षपाती देखिँदै आएका महामन्त्री कोइरालाले अहिले चुनावको मुखमा जनमत संग्रहको नारा दोहोराउने रणनीति चुनावी पासा वाम गठबन्धनबाट जोगाउँदै आफ्नो पक्षमा पल्टाउने योजना मुताबिक नै भएको हुनुपर्छ।

हिन्दूत्वको मुद्दामा अब कांग्रेस र राप्रपाको एक स्वर हुनु र उनीहरु चुनावमा एउटै मोर्चामा रहनु एउटा राजनीतिक संयोग र बाध्यता मात्रै पनि नहुन सक्छ। एमाले र माओवादी एकताको लहरले पार्टीलाई लपेट्ने, दपेट्ने खतराको प्रतिरोधका लागि कांग्रेस रणनीतिक रुपमा हिन्दूत्वको मुद्दामा जनताको प्यारो हुन खोजेको घट्नाक्रमहरुले देखाउँछन्। 
वाम गठबन्धनले देशलाई साम्यवादी एकाधिकारवादतर्फ धकेल्ने प्रयास गरेमा हिन्दूत्वको नारामा कांग्रेस जनसमर्थन लिन अग्रसर हुने रणनीतिक तयारीमा देखिन्छ।
***

कांग्रेस महामन्त्री शशांक कोइरालाले राजतन्त्रको मुद्दा समाप्त भइसकेको प्रष्ट पारेर कांग्रेस कमल थापाको राप्रपा भन्दा अग्रगामी भएको सन्देश त दिन खोजेका छन् तर महामन्त्री कोइरालाले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा दोहोराएर राप्रपाको मुद्दामा कांग्रेसले गोल गर्ने चतुरयाई देखाउने कोशिस गरेका छन। कांग्रेसलाई हिन्दूत्वका पक्षमा फर्काउन वाम गठबन्धन आवरणको कारक चुनौति देखिँदैछ। यदि यसै भएमा एकै तलाउमा रहेका साना माछालाई ठूला माछाले निले जस्तै लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपालाई कांग्रेसले निलिदिने संभावना बढ्छ। यसो हुँदा अवसरवादी राजनीतिका पर्याय कमल थापाको राजनीतिक मुद्दामा वियोगान्त ब्रेक हुन सक्छ।

महामन्त्री कोइरालाका दाबीमा कांग्रेसले जितेमा मात्रै हिन्दू राज्य पुर्नस्थापनाका लागि जनमत संग्रह गर्नेछ। त्यसका लागि कांग्रेसले पहल गर्ने उधारो आश्वासनमा महामन्त्री हिन्दूवादी, राजावादी तथा कमल थापा विरोधीहरुको मत कांग्रेसको पोल्टोमा पार्न उद्यत देखिएका छन्। 
साथमा तिहारको भाइटीकामा जनताको माग भएमा आफू देशको नेतृत्व लिन तयार रहेको भनाई सार्वजनिक गरेका पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई ईंगित गर्दै कोइरालाले राजतन्त्र बारेको बहसमा कांग्रेस नउल्झिने स्पष्ट पारेर कट्टर राजावादीहरुलाई झसंग पारेका छन्। राजतन्त्रबारे भने जनमत संग्रह गर्नु नपर्ने महामन्त्री कोइरालाको कथन पूर्वराजा वा उनका समर्थक दाजु प्रकाश कोइराला लगायतका समर्थकहरुलाई निकै निराश पार्ने झस्का हो। अब राजतन्त्र फर्काएर केही हुनेवाला छैन भन्ने कोइराला दाबी निकै कठोर प्रतिक्रिया हो।  
यस पृष्ठभूमिमा कांग्रेससँग मिलेर पुनः शक्तिमा फर्कने कुनै अप्रकट चाहाना पूर्व राजा शाहमा थियो नै भनेपनि त्यो च्याप्टर सकिएको तथ्य महामन्त्री कोइरालाको कथनले सुझाएको छ।

राप्रपा र कांग्रेसको गठबन्धन सिद्धान्ततः हिन्दू मुद्दामा कम्तिमा चुनावपछि पनि निरन्तर हुन सक्ने तर राजतन्त्रको मुद्दामा भने फरक फरक धारमा नै रहने संकेत देखिन्छ। अर्कोतिर कांग्रेसभित्रै पनि हिन्दूत्वको पक्षमा अविराम संघर्ष गर्दै आएका नेता खुमबहादुर खड्का, पूर्व सभामुख तारानाथ रानाभाट लगायतका लागि भने महामन्त्री कोइरालाको पछिल्लो दृष्टिकोण नयाँ उर्जा बन्न पुगेको छ। स्पष्ट सन्देश के पनि हो भने वाम गठबन्धनले देशलाई साम्यवादी एकाधिकारवादतर्फ धकेल्ने प्रयास गरेमा हिन्दूत्वको नारामा कांग्रेस जनसमर्थन लिन अग्रसर हुने रणनीतिक तयारीमा देखिन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell