काठमाडौं : निश्चय नै क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धाले समग्रमा काठमाडौं उपत्यकाको चुनावी नाप नक्शालाई इंगित गर्नेछ। किनभने यो देशको राजधानी सहरको मुख्य क्षेत्र हो। भूगोल, जनसंख्या, जनताको चेतनास्तर र राजनीतिक परिवर्तनका हरेक श्रृङ्खलाको साक्षी बसेका र आफैंमा तुलनात्मक रुपमा धनी र सम्पन्न वर्गको खर्क पनि हो।
आसन्न मंसिर २१ गते दोस्रो चरणमा हुन गइरहेको प्रदेश तथा संघको चुनावी प्रतिस्पर्धामा देशभरको जस्तै राजधानीको पनि १ नम्बर क्षेत्र धेरै चर्चित छ। काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका अलवा विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा मुख्य चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौं १ मा जीतको पुरानो रेकर्ड कायम राख्नुछ सिंहलाई। पत्रकारिता र परोपकारी कर्मबाट विश्राम लिएर राजनीतिमा होमिएका नवनेता मिश्रलाई पहिलो इनिङ्गमा नै राजनीतिक सफलता चुम्नु छ। पार्टीको क्रान्तिकारी धार भुत्ते र स्खलित हुँदै गएको भए पनि आफ्नो युवामय छवि उजिल्याउनु छ शर्मालाई। एमालेका लागि वाम गठबन्धनको ओत लागेका कारण काठमाडौं १ जिते उपलब्धि, हारे हर्ष न विस्मातको चुनावी खाल मात्रै हो यसपालिको चुनावमा।
सिंहको सिंहासन कति सुरक्षित?
निवर्तमान सांसद् हुनुका नाताले क्षेत्र नं. १ मा प्रकाशमानको सिंहासन सुरक्षित रहेको क्षेत्र नै मान्न सकिन्छ। तर, के उनको अतीत भैसकेको जीतको गाथा दोहोरिएला त? सायद निकै खरो चुनावी परीक्षा छ उनलाई फेरि एक पटक। नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार सिंहले चुनावमा चुनौती महसुस गरे पनि जनता बहकाउमा नलागेर आफूलाई भोट दिने विश्वास व्यक्त गर्छन। ‘यहाँ क्रान्तिकारी पार्टीका नेताहरु आएकै हो, उहाँहरुको गति के भयो?’ उनी नयाँ पार्टीले केबल नारामात्र दिने तर काम गर्न नसक्ने दाबी गर्छन। पुराना पार्टीहरुको जुन अनुभव छ त्यो नयाँ पार्टीसँग हुँदैन। देश विकास टेस्टेड पार्टीहरुले मात्रै गर्नसक्छ,’ प्रकाशमान थप्छन, ‘राजनीति रत्नपार्कमा बसेर चटकेले चटक देखाए जस्तो होइन।’
पार्टीभित्र काठमाडौं कांग्रेसकै राजनीति चलाइरहेका सिंहका लागि जीत निश्चित पनि नभएको र हारी हाल्ने खतरा पनि नभएको चुनावी परीक्षा हो २१ मंसिरको मतदान। नेपाली राजनीतिमा संघर्ष, त्याग र इमानमा अतुलनीय व्यक्तित्वमा स्थापित लौहपुरुष गणेशमानको पुत्र हुनु राजधानीमा सिंहको राजनीति टिक्ने आधार स्तम्भ नै बने।
तर, के पटकपटक राजधानीबाटै निर्वाचित भएर उपप्रधानमन्त्री भैसकेका सिंहले यस पटक जितेर पार्टीले सरकारको नेतृत्व गर्ने अवसर आएमा प्रधानमन्त्रीमा नै दाबी गर्ने गरी काठमाडौं १ का मतदाताबाट मतादेश पाउलान त? यो भने यसै भन्न सकिन्न। उनी जनताको परीक्षामा पटकपटक पास भएका नेता जरुर हुन। तर, उनले जनादेशको जगमा सत्तामा बसेर काठमाडौं १ का मतदातालाई के-के गुन तिरे वा लगाए? सायद यसको असली हिसाब जनताले मतदान कै दिन गर्ने छन। अहिलेसम्मको चुनावी चुरीफुरी हेर्दा उनी कमजोर उम्मेदवार होइनन् मात्रै भन्न सकिन्छ।
पटकपटक टेष्टेड सिंहका सामु अनटेष्टड मिश्र र शर्मा काठमाडौं १ का लागि नयाँ अनुहार भए पनि सिंहले सिधै निलिदिन सक्ने केटाकेटी भने अवश्य होइनन्।
मिश्रको पहिलो यात्रा, बन्ला सफल?
एक भिडियो अन्तर्वार्तामा पूर्वपत्रकार मिश्रकी आमाले छोरा बिबिसीको राम्रो जागिर छाडेर राजनीतिमा लागेकोमा दु:ख व्यक्त गरेकी छिन। आमा बुबाको उक्त भिडियोमा मूर्धन्य कलाकार तथा एक जना कट्टर राजभक्त पिता मनुजवावुले सम्म छोराको राजनीतिक यात्रालाई मुश्किलले समर्थन गरेका छन। तर, मातापिताको दु:ख वा असन्तोषका बाबजुत पनि रविन्द्र राजनीतिक यात्रामा निस्केका मात्रै होइनन्, चुनावी परीक्षामा पनि सामेल भैसकेका छन्। काठमाडौं १ बाट निर्वाचित सांसद् बन्दै आफूसहितको नेतृत्वको विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्यका साथ उनी चुनावी समरमा होमिएका छन्।
जन्म दिने आमाको चित्त दुखार्इका बाबजुत काठमाडौं १ का मतदाताको घरदैलोमा मत माग्न पुगिरहँदा भने मिश्रलाई आसु, हाँसो र भावविव्हल भएर समर्थन र सहकार्यको वचन दिने मतदाताहरु बाक्लिँदै छन्। उसै पनि राजनीतिको पहिलो यात्रा र पहिलो अनुभवका कारण उनी अरु प्रतिस्पर्धी दल कांग्रेस र वाम गठबन्धनको आलोचनामा भन्दा आफ्नो दल विकल्प भएको तर्कका साथ मत मागिरहेका छन्। उनको मत माग्ने शैली शिष्ट, भद्र, शालिन र तडकभडकरहित नै देखिँदैछ। उनले सामाजिक सञ्जालको आफ्नो ख्यातीलाई पनि चुनावी प्रचारका दौरानमा राम्रै सदुपयोग गरिरहेका छन्। सामाजिक सञ्जालको प्रचार शैलीले प्रतिस्पर्धी कांग्रेसका सिंह र वाम गठबन्धनका शर्मालाई ओझेलमा नै पारेको छ।
नयाँ पात्र, नयाँ सोच, नयाँ राजनीतिक संस्कार अभ्यासका थालनी मिश्रका चुनावी काइदा देखिएको छ। नयाँ दल र पूर्णाकार ग्रहण गरिनसकेको दल भएकाले पनि हुन सक्छ उनको घरदैलो र प्रचार शैली अरु प्रतिस्पर्धीको जस्तो भिडभाड र झण्डावाला धेरै देखिदैन। राजनीतिक स्टन्टवाजीमा विवेकशीलको खासै जोड देखिएको छैन।
राजधानीवासीका दिनदिनका समस्या र सरोकारलाई सम्बोधन गर्ने गरी मतदाता कहाँ धाएका मिश्रका लागि मतदाताले उत्साह थपेका अवश्य छन्। तर, उनका समर्थकहरुको उत्साह कांग्रेस वा वाम गठबन्धनका उम्मेदवारलाई ओझेलमा पार्ने तहसम्मको बाक्लो र बृहत छ छैन, अहिल्यै आँकलन गर्न सकिदैन। किनभने नयाँ हुनु, वेदाग छवि रहनु, पत्रकारिता र परोपकारी बिगतको लोकप्रियतालाई राजनीतिमा मिसाउनु उनका लागि सुखद पक्ष मात्रै हुन्। निर्णायक शक्ति भैसकेको छैन्। तर, उनी वाम वा कांग्रेस दुवैका लागि असरदार धक्का दिने नयाँ राजनीतिक चुनौतीका पात्र अवश्य हुन।
शर्माको टुरिष्ट राजनीति स्वीकृत होला?
निवर्तमान गृहमन्त्री तथा माओवादी केन्द्रका उदाउँदा महत्वाकांक्षी नेता जर्नादन शर्माका भाइ र अखिल क्रान्तिकारीका अगुवा नेतामा अनिल शर्मा राजधानीको १ नम्बर क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार बनेका हुन्। काठमाडौं १ उनको राजनीतिक कर्म क्षेत्र वा जन्म क्षेत्र दुबै होइन। उनी चमत्कारिक क्षमताका उम्दा विद्यार्थी नेताको छवि बनाएर पनि काठमाडौं १ को चुनावी समरमा होमिएका होइनन्।
काठमाडौं १ को यो चुनावी प्रतिस्पर्धामा नेकपा एमाले जस्तो प्रभावशाली दलसमेतको समर्थन पाएका माओवादीले हेभी क्षेत्रमा लाइट उम्मेदवार उठाएको छ। यस अर्थमा उनी कांग्रेसका सिंहको तुलनामा फुच्चे हुन भने विवेकशीलका मिश्रका तुलनामा पनि उम्दा हेभीवेट होइनन्। रुकुमका शर्मा राजधानीका लागि टुरिष्ट सरह उम्मेदवार मानिएका छन्। यसको मतलव क्षेत्र १ का रैथाने वाम मतदाताका लागि पनि उनी पहिलो रोजाई बनिहाल्लान भन्ने ठोकुवा गर्न मुश्किल छ। सुरुमा नै तेस्रोमा टाक्सिएर बस्न मात्रै परेन र त्रिपक्षीय भीडन्त रहेको प्रमाणित हुने गरी शर्मा प्रतिस्पर्धामा आए मात्रै भने पनि यो उनका लागि चुनावी राजनीतिमा निकै ठूलो उपलब्धि हुनेछ। यदि पहिलो नै भैहाले भने त उनका लागि यो अकल्पनीय चुनावी विजय हुनेछ। तर, त्यसो हुन काठमाडौं १ का मतदाताले नाटकीय मतदान गर्नु पर्नेछ।
हेभीवेटको चुनावी कुरुक्षेत्र
२०४६ को परिवर्तनपछि २०४८ को चुनावमा काठमाडौं १ ले तत्कालीन माले महासचिव मदन भण्डारीलाई निर्वाचित गरेको थियो। पहिलो पटक खुल्ला राजनीतिमा ओर्लिएका चमत्कारिक वाकपटुताका धनी मदन भण्डारी राजधानीको क्षेत्र १ र ५ बाट निर्वाचित हुनुमा उनको अद्धितीय भाषण कला र पार्टीको पञ्चायतकालीन संगठनको आधार क्षेत्रको बल पनि थियो। तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनावी मैदानमा ओर्लन चुनौती दिनेसम्मको आक्रामक भाषण पनि भण्डारीलाई विजयी गराउने आधार थियो।
तत्कालीन अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री तथा कांग्रेसका नेतात्रय मध्येका सन्तनेता कृष्णप्रसाद भट्टराई नै हराउने मदन भण्डारीको छविको निरन्तरता एमालेले लामै समयसम्म कायम राखेको क्षेत्र हो काठमाडौं १। मदन भण्डारीको अवसानपछि उनकै पत्नी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजधानी २ बाटै चुनिएकी थिइन। तर, उनले काठमाडौं १ ताक्न सकेकी थिइनन्।
बरु राजनीतिमा साम, दाम, दण्ड, भेद सबै दाउ खेल्न खप्पिस र धनवाद र डनवादलाई वामपन्थी जनवादको आवरणमा क्यास गर्न माहिर एमाले नेता प्रदिप नेपालले काठमाडौं क्षेत्र १ मा एमालेको भण्डारीकालीन जीतलाई निरन्तरता दिन सफल भएका थिए। त्यस यता काठमाडौं १ एमालेको स्थायी लालकिल्ला भइरहन सकेन। कांग्रेसका प्रकाशमान सिंहका लागि यो पटके जीतको किल्ला हो। तर, उनले प्रकाशमान वा कांग्रेसका किल्ला बनाइरहन धेरै मेहनेत गर्नु परिरहेको छ।
निर्णयक लहरको भोट र वाम एकताको भावनात्मक पक्षः
अन्यत्र जस्तो काठमाडौं १ का मतदातालाई सिधै यता लाग्लान, उता लाग्लान भन्न मुश्किल छ। २०४६ को कांग्रेस र तत्कालीन वाम मोर्चाको संयुक्त जनआन्दोलनका नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र पत्नी मंगलादेवी सिंहलाई पनि २०४८ को चुनावमा राजधानीका मतदाताले हराइदिए। इतिहासको त्यो क्रुर आलोकमा स्व. गणेशमानले राजधानीका जनतालाई भेडाको संज्ञा पनि दिए। तर, अहिले राजधानीका जनता धेरै परिपक्क र विवेकी बनिसके।
पछिल्लो स्थानीय चुनावको नतिजा हेर्ने हो भने उनीहरुले लोडसेडिङ्ग अन्त गरेर राजधानीलाई पहिलो चरणमा उज्यालोको गुन लगाएको माओवादीलाई वास्ता गरेनन्। बरु विवेकशील दलका उम्मेदवारलाई विकल्पमा मत दिए। संगठनको बलमा स्थानीय सत्तामा एमाले हाबी भयो भने परम्परागत शक्तिको साख कांग्रेसले जोगायो।
स्थानीय तहको चुनावी छाँया काठमाडौं १ मा दोहोरियो भने मिश्रको जीतको सम्भावना बढी छ। सत्ताको विपक्षमा प्राय उभिने यहाँको जनमत यसै कारण लोकप्रिय सरकार हाक्न नसकेका कारण वर्तमान सत्ताको विपक्षमा जाँदा त्यसको असर सिंहलाई पर्न सक्छ। वाम एकताको केन्द्रिय लहर भावनात्मक रुपमा कार्यकर्ता पंक्तिसम्म फैलियो भने अनिल निल हुनबाट जोगिन सक्छन्।
मुद्धा, दल र उम्मेदवारहरु हेरेर अक्सर अदलबदल भैरहने यहाँका मतदाताको रहर तराजुतिर ढल्किने सम्भावना बढी नै छ। एमालेले विगतमा जितेको क्षेत्रमा माओवादीका लागि छोड्नु परेको तोड एमाले समर्थकले मतदानमा क्रस भोटमार्फत व्यक्त गरे भने त्यसको लाभ पनि मिश्रले उठाउन सक्छन। चुनावी लहर हेरेर यता उता स्विंग भैरहने मत तान्न सिंह र शर्माभन्दा मिश्रलाई सुविधा छ। तर संगठित मतको आधार सिंह र शर्माका लागि गर या मरका स्तरमा मतदानमा बदलियो भने उनीका लागि पनि चुनावी जीत असम्भव भने छैन।
मिश्रको तराजुमा काठमाडौं १ मतदाताको मतभार परे नयाँलाई राजधानीको मुख्य क्षेत्रले स्वागत गर्ने संकेत आएको बुझिने छ। सिंहको रुखमुनि यहाँका मतदाताको मत एकीकृत भए रुखको छहारी नै उनीहरुलाई पुनः मन्जुर भएको देखिने छ। हँसिया हथौडामा मत परे काठमाडौं १ मा वाम तालमेलको असरले ओझेल परेको एमालेको सूर्य पनि चम्किने छ। तर, कसलाई कुन हैसियत देलान काठमाडौं १ बासीले? यसै भन्न कठिन छ।