PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

यू-१९ एसिया कप : पाकिस्तान ५७ रनमा अलआउट, अफगानिस्तान र श्रीलंकाको विजयी शुरुवात



पहिलोपोस्ट

यू-१९ एसिया कप : पाकिस्तान ५७ रनमा अलआउट, अफगानिस्तान र श्रीलंकाको विजयी शुरुवात

काठमाडौं : मलेसियामा आजबाट शुरु भएको एसीसी यू-१९ युथ एसिया कपमा अफगानिस्तान र श्रीलंकाले विजयी शुरुवात गरेका छन्।

समूह बी अन्तर्गत भएको खेलमा अफगानिस्ताले पाकिस्तानलाई तथा श्रीलंकाले युएईलाई समान ७ विकेटले पराजित गरेका हुन्।

केही समय अघि मात्र टेष्ट नेशनको मान्यता पाएको अफगानिस्तानले पाकिस्तानलाई ५७ रनमा अलआउट गर्‍यो। 

पाकिस्तानी इनिङ्स ध्वस्त बनाउन अफगानिस्तानका मुजिव उर रहेमानले घातक बलिङ गर्दै ६ विकेट लिए। नाभिद उल हक र योसुफ जाजीले २-२ विकेट झारे।

टस हारे पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि महुम्मद तहाले सर्वाधिक १४ रन बनाउदा ३ खेलाडीले मात्र दोहोरो अंक छुन सके भने ६ खेलाडीले खाता समेत खोल्न सकेनन्।

५८ रनको लक्ष्य अफगानिस्तानले ९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। अफगानिस्ताननको जितमा निशार हक वाहदतले नटआउट २५ रन बनाए भने रहमानुल्लाहले १३ रनको योगदान गरे।

अर्को खेलमा युएईले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाका कप्तान कामिन्डु मेन्डिसले नआउट २७ रन बनाए।

टस जितेर पहिले ब्याटिङ गरेको युएई २२ ओभरमै ६६ रनमा अलआउट भयो। युएईका दुई खेलाडीले मात्र दोहोरो अंक जोडे। श्रीलंकाका रश्मिका दिलसानले ४ तथा जेहान डानिएलले ३ विकेट लिए।

यस्तै आजै समूह ए अन्तर्गत भारत र मलेसियाबीच खेल भइरहेको छ। कप्तान हिमाशुं दत्तले शतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गर्दै भारतले मलेसियालाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

समूह ए मा रहेको नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell